सांसद नविना लामासहित पाँच नेतृले खोले कपडा समेत बेच्ने रिमठिम रेस्टुरेन्ट

काठमाडौँ । सांसद नविना लामासहित अनेरास्ववियुका पाँच नेतृ मिलेर काठमाडौंमा नयाँ रेस्टुरेन्ट खोलेका छन् । सहरमा विस्तारै रेस्टुरेन्ट कल्चर बढ्दै गएका बेला राजनीतिमा लागेका महिलाहरु मिलेर नयाँ रेस्टुरेन्ट खोलेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा खुलेको हिमालयन रिमठिम नामको उक्त रेस्टुरेन्टमा कपडा समेत बिक्री गरिने बताइएको छ ।

नयाँ बानेश्वरको संसद् भवन विपरित मीनभवन चोकमा रहेको यो रिमठिम रेस्टुरेन्टमा अग्र्यानिक खानाको स्वाद पाइने सांसद लामाले जानकारी दिएकी छन । साथै रेष्टुरेन्टमा नेपाली संस्कृति झल्काउने अन्य विभिन्न सामाग्री समेत प्रदर्शनीमा राखिने बताइएको छ ।

सांसद लामाले नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको जानकारी गराएकी छन् । राजनीतिमा लागेका व्यक्तिले पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूहरुले रेष्टुरेन्ट खोल्न लागेको सांसद लामाको भनाई छ । उनले कोदो, मार्सी चामल, फापर, अर्गानिक कफि, जुस, मकै लगायतका स्थानीय उत्पादनबाट बन्ने परिकारले ग्राहक तथा पाहुनालाई पस्कने जानकारी दिइन ।

आइतबार रेष्टुरेन्टको उद्घाटन गरिएको हो । सो क्रममा कानुन, न्याय तथा संसदिय मन्त्री भानुभक्त ढकाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यसोदा तिम्सीना, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, एसिड पिडित संगिता मगर लगायतका विभिन्न पार्टीका विभिन्न नेता तथा कार्यकर्ता उक्त रेस्टुरेन्टमा पुगेका थिए ।

रेस्टुरेन्ट उद्घाटनका क्रममा पुगेका सबैले सांसद लामा सहित पाँचै जनालाई राजनीतिक यात्रासँगै व्यवसायिक जीवन सफलताका लागि शुभकामना दिएका थिए ।

रेष्टुरेन्टमा स्थानीय उत्पादनका कपडा, ढाका साडी, व्याग, टप्स्, कोट लगायतका सामग्रीहरुका साथसाथै नेपालको कला, संस्कृति, पर्यटन झल्कने सामग्रीहरु समेत बिक्री गरिने लामाले जानकारी दिएकी छन् ।

Loading...