बार्सिलोनासँग ५-१ ले हारेर अहिलेसम्मकै खराब प्रदर्शनपछि रियल म्याड्रिडका प्रशिक्षक बर्खास्त

जुलियन लोपेतेगीलाई बर्खास्त गरेको रियल मड्रिडले क्लबको अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्त गरेको छ । युरोपेली च्याम्पियन रियल मड्रिडले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् ।

पछिल्ला खेलमा नराम्रो गर्दै आएकोमा ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् ।

आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियल मड्रिड ५–१ ले हारेको थियो । रियल मड्रिडको जिम्मेवारी सम्हालेको साढे चार महिनामै लोपेतेगी बर्खास्त भएका हुन् ।

उनी विश्वकप फुटबलअघि रियल मड्रिडमा आउने पक्का गरेका थिए । त्यहिकारण स्पेनले उनलाई विश्वकप सुरु हुनु भन्दा एक दिनअघि बर्खास्त गरेको थियो । राष्ट्रिय टिमको जिम्मेवारीबाट बर्खास्त भएका लोपेतेगी क्लबले राम्रो गर्न नसक्दा फेरि बर्खास्त भएका हुन् । उनी गएको जुनमा जिनेदिन जिदानको ठाउँमा आएका थिए ।

रियल मड्रिड पछिल्ला ६ खेलमा पाँचमा पराजित भएको छ । सन् २००१–०२ यताकै खराब प्रदर्शन गरेको रियल मड्रिड अहिले ला लिगामा नवौँ स्थानमा छ ।

रियल मड्रिडको जिम्मेवारी सम्हाल्न आएका बी टिमका सान्टियागो सोलारीले आफ्नो पहिलो खेलमा राम्रो गर्नु पर्ने जिम्मेवारी छ । ४२ वर्षका अर्जेन्टिनी सोलारीको प्रशिक्षणमा रियल मड्रिडले आफ्नो पहिलो खेल बुधबार खेल्नेछ ।

कोपा डेल रे अन्तर्गत तेस्रो डिभिजनको क्लब मेलिलासँग रियलले प्रतिस्पर्धा गर्न लागेको हो । स्पेनिस नियम अनुसार अन्तरिम प्रशिक्षक दुई हप्ताका लागि मात्रै हुन्छ । त्यो भित्र स्थायी प्रशिक्षकको घोषणा गरिसक्नु पर्नेछ । सोलारीका लागि यो अवसरको रुपमा रहेको छ ।

Loading...