युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या

एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी थिइन् । उनको एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी विमानको बारेमा लेखेपछि आफूले ज्यान मार्ने धम्की पाएको र त्यसपछि उनले रुस छोडेको बताएका थिए । उनी पहिले चेक गणतन्त्रको प्राग गएका थिए, त्यसपछि मात्रै किएभ आएका हुन् ।

उनले रुस सरकारको आलोचना गर्दै आएका थिए । पूर्व युद्ध रिपोर्टर बबचेन्कोले किएभमा युक्रेनको टेलिभिजन च्यानल एटिआर टिभीमा प्रस्तोताको रुपमा काम गर्दै आएका थिए ।

Loading...