नेपाल स्कटल्याण्डसँग पनि पराजित

काठमाडाैं, २४ फागुन । विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २-२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यस्तै दोस्रो ओभरको दोस्रो बलमा दिलिप नाथलाई नेपाललाई गुमायो । आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो ।

नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको नाजुक स्थितिलाई अघि बढाएका थिए ।

रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाए । त्यस्तै सोमपाल कामीले ५४ बलमा १८ रन बनाए । वसन्त रेग्मीले नटआउट रहँदै २४ रन को योगदान दिए पनि नेपालका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि स्टुवार्ट ह्विटिंघमले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सफ्यान शरिफ अलास्दैर इभान्सले २–२ र टम सोले, तथा रिची बेरिंगटनले समान एक–एक विकेट लिए ।

 

आइसीसी विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएपछि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै कठिन बनेको छ । लगातार तीन खेलमा जित निकालेको स्कटल्याण्ड सुपरसिक्समा पुगेको छ । अब नेपालले शनिबार हङकङसँग खेल्नेछ ।

Loading...