विप्लव र वैद्यले श्रमिक महिला दिवस मिलेर मनाउने

काठमाडौं, २४ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र माेहन वैद्यकाे नेतृत्वमा रहेकाे नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रुपमा मनाएका छन् । 

दुर्इ पार्टीका महिला संगठनले संयुक्त अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी पूरा गरेका छन् । दुबै पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजनामा काठमाडौँमा संयुक्त रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागेका हुन् ।

‘१०८ औं श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं, महिलामाथि भइरहेका सबै उत्पीडनका विरुद्ध संघर्ष गरौं’ भन्‍ने मूल नारासहित दुबै संगठनले संयुक्त रुपमा श्रमिक महिला दिवस मनाउन लागेका अनेम संघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्ययले जानकारी दिइन् । उनका अनुसार बिहीबार (आज) दिउँसो १२ बजेबाट काठमाडौँको शान्तिवाटिकाबाट र्‍याली सुरु हुनेछ ।

र्‍याली पुनः शान्तिबाटिकामै पुगेपछि कोणसभा गरिने अायाेजकले जनाएका छन् ।

आज विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रम गरी याे दिवस मनाइरहेका छन् ।

सन् १९१० को मार्च ८ बाट मनाउँन सुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवस १०८ औं वर्षमा प्रवेश गरेको छ । यो दिवस नेपालमा सन् १९७५ बाट मात्रै मनाउँन सुरु गरिएको हो ।

यस वर्षमा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

श्रमिक महिलाहरुलाई आफ्नो अधिकारको लागि संगठित रुपमा आवाज उठाउन कोपनहेगन सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको हो । तर, आज भोली यो फेसन भएको छ ।

सम्भ्रन्त परिवारका महिलाहरुले यो दिवस मनाउन थालेका छन् । महिलामाथि उत्पीडन गर्ने महिलाहरु नै नारी दिवसको नारा लगाउँने अवस्थाका कारण बास्तविक श्रमिक महिलाका मुद्दा ओझेलमा परेका छन् ।

सन् १९०९ मा पहिलो पटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाहरुले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समय भयो भनेर सडकमा आन्दोलन गरेका थिए । त्यही अान्दोलनलाई महिला अधिकारको उद्‍गम मानिदै अाएको छ ।

Loading...