वलिउड अभिनेत्री श्रीदेवीको निधनपछि नबोलेका श्रीमान बोनीले बल्ल लेखे यस्तो भावुक पत्र

काठमाडौं । बलिउडकी दिग्गज कलाकार श्रीदेवीको अन्त्येष्टिको तीन दिनपछि उनका श्रीमान् बोनी कपुरले भावुक पत्र सामाजिक सञ्जालमा सेयर गरेका छन् । राजकीय सम्मानका साथ अन्त्येष्टिमा मुखाग्नि दिन पुगेका बोनीले अहिलेसम्म धर्मपत्नीको निधनलाई लिएर बोलेका थिएनन् । शुक्रबार श्रीदेवीकै ट्विटर एकाउन्टबाट एउटा भावुक पत्र सार्वजनिक गर्दै उनले आफ्ना परिवार, साथी, सहकर्मी र फ्यानहरूलाई आभार व्यक्त गरेका छन् ।

दुःखमा साथ दिने सबैप्रति र विशेषगरी आफ्नी पहिली धर्मपत्नी स्वर्गीय मोना कपुरतर्फका छोरा अर्जुन र छोरी अंशुलाको समझदारीको तारिफ गरेका छन् । श्रीदेवी र उनीतर्फका छोरी खुसी र जाह्नवीका साथमा निरन्तर रहेकोमा मोनापट्टिका छोराछोरीको उनले प्रशंसा गरेका हुन् ।

बोनीले धर्मपत्नी श्रीदेवीका बारेमा लेखेका छन्, ‘दुनियाँका लागि उनी चाँदनी थिइन्, सर्वश्रेष्ठ अभिनेत्री थिइन्, उनीहरूकी श्रीदेवी थिइन्, तर मेरा लागि उनी मेरो प्रेम, मेरो दोस्त, मेरा दुई छोरीकी आमा र मेरी सहयात्री थिइन् ।

मेरा छोरीहरूका लागि उनी सर्वस्व थिइन् । उनीहरूको जिन्दगी थिइन् । उनी हाम्रो परिवारको धुरीखाँबो थिइन् ।’ उनले सबैसँग यो पनि अनुनय गरेका छन्– ‘यो दुःखमा उनी र उनको परिवारलाई एक्लै रहन दिनुहोस् ।’

Loading...