काठमाडौं उपत्यका मरुभूमी बनाउने खतरा, यसरी जुटे अभियन्ताहरु

काठमाडौं, १९ फागुन । कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् ।

सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । यसैक्रममा शुक्रबार सो अभियान टोलीले शिवपुरी राष्ट्रिय निकुञ्जको सबैभन्दा अग्लो डाँडामा पुगेर सञ्चारकर्मीहरुसँग भेटघाट गरेको छ । जामाचो सञ्चार उत्सव नाम दिइएको उक्त कार्यक्रममा शिवपुरी डाँडाबाट काठमाडौं उपत्यकालाई विभिन्न कोणबाट अवलोकन गरिएको थियो । चर्चित विश्व साइकल यात्री पुस्कर शाहसहितको साइकल यात्रीहरुको समूह र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको टोली शुक्रबार शिवपुरीको जामाचो लेकमा पुगेको थियो ।

के हो नेपाल मण्डल पर्यटन नगरी अभियान ?

२५० वर्ग माइल क्षेत्रभित्र रहेको काठमाडौं उपत्यकालाई अभियन्ताहरुले नेपाल मण्डल पर्यटन नगरी भनेका छन् । ज्ञानभूमी, तपोभूमी र देवभूमीका रुपमा रहेको यो उपत्यकालाई अव्यवस्थित बसोबास र विकासका नाममा गरिएको विनासले मरुभूमीमा परिणत गर्न लागिएको उनीहरुको भनाई छ । यसलाई कङ्क्रिट हुनबाट बचाउन माग गर्दै यो अभियान थालिएको लेखक तथा अभियन्ता पदम श्रेष्ठ बताउँछन् ।

नेपाल मण्डल पर्यटन नगरीभित्र पाँच वटा साना पर्यटन नगरी घोषणा गरिएको छ । ७ हजार ९ सय ५० फिट अग्लो चन्द्रागिरीका वरिपरि रहेको चन्द्रागिरी चम्पादेवी पर्यटन नगरी, ९ हजार ७३ फिट अग्लो फुल्चोकी डाँडाको वरिपरि रहेको फुल्चोकी लाकुरी भञ्ज्याङ पर्यटन नगरी, ५ हजार ९ सय ३३ फिट अग्लो नगरकोट वरिपरि नगरकोट जरसिंहपौवा पर्यटन नगरी, ८ हजार ९ सय ६२ फिट अग्लो शिवपुरी वरिपरि शिवपुरी–ककनी पर्यटन नगरी र ६ हजार ३ सय ३० फिट अग्लो नागर्जुन वरिपरि जामाचो याङ्की दह पर्यटन नगरी गरी पाँच वटा साना पर्यटन नगरी बनाइएको छ । यिनै पाँच वटा पर्यटन नगरीलाई केन्द्र बनाइ विभिन्न सचेतनामूलक कार्यक्रम तयार गरिएका छन् । काठमाडौं उपत्यकाका चारैतिर रहेका यी पाँच उच्च स्थानलाई आधार बनाएर त्यसका वरिपरि पर्यटनको उच्च विकास गर्ने र समग्रमा काठमाडौं उपत्यका अर्थात नेपाल मण्डललाई नै स्वर्गभूमी बनाउनुपर्ने माग अभियन्ताहरुको छ ।

काे छन अभियन्ताहरु ?

याे अभियान काठमाडाैं उपत्यकामा बढ्दाे प्रदुषण राेक्ने र हराभरा उपत्यका बनाउन चासाे राख्ने सबैकाे साझा अभियान हाे । नेपाल मण्डल (काठमाडाैं उपत्यका)लार्इ हरियाली सहरमा परिणत गर्न र यसकाे चारैतिरकाे जंगललार्इ जाेगाइ पर्यटकीय केन्द्रहरु निर्माण गर्न सहमत सबैलार्इ यसका अभियन्ताहरुले अभियानमा जाेडिन सक्ने बताएका छन् । याे स्वतस्फूर्त अभियान पनि हाे । 

हालका लागि यस अभियानको संयोजक सामाजिक अभियन्ता कृष्ण केसी रहेका छन् । साथै काठमाडौं उपत्यकाको इतिहास र विभिन्न स्थानहरुको राम्रो अध्ययन गरी विभिन्न पुस्तकका लेखक पदम श्रेष्ठ यसको सचिव रहेका छन् । त्यसैगरी पाँच वटा पर्यटन नगरीमा छुट्टाछुट्टै टिम बनाएर अभियान बनाइएको छ । जसअनुसार चन्द्रागिरी चम्पदेवी पर्यटन नगरीका संयोजक विनोद महर्जन रहेका छन् । त्यस्तै फुल्चोकी लाँकुरी भञ्ज्याङ पर्यटन नगरीका सुकुलाल तामाङ रहेका छन् । त्यस्तै नगरकोट जरसिंहपौवा पर्यटन नगरीमा गोकुल शर्मा रहेका छन् । त्यसैगरी शिवपुरी–ककनी पर्यटन नगरीमा ईन्द्र लामा र सोममाया लामा छन् भने जामाचो यङकीदह पर्यटन नगरीका संयोजक राजेन्द्र के.सी. रहेका छन् ।

अभियन्ताहरुको टोलीले विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरुलाई यो अभियानमा सहभागी भई काठमाडौं उपत्यकाको प्राकृतिक रुप बचाउन माग गरेको छ । ‘नेपालमा चाडैचाड, मेलैमेला, पर्वैपर्व, दिवसै दिवस, उत्सवै उत्सव :  त्यसैमा थपौ एक नेपाल मण्डल पर्यटन महोत्सव’ भन्ने मूल नारा तय गर्दै टोलीले तीन महिने अभियान बनाएर महा उत्सवका रुपमा यस अभियानलाई मनाउने जनाएको छ ।

नेपालकाे झण्डा उडाएर अभियानकाे उद्घाटन

माघ २५ गते स्वयम्भुको महाचैत्यस्थलबाट नेपालको झण्डा बोकेका बेलुनहरु उडाएर यस अभियानको सुरुवात गरिएको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले सुरुवात गरेको यो अभियानमा समाजका सबै ख्यातीप्राप्त व्यक्तित्वहरुलाई जोड्ने अभियानका सचिव पदम श्रेष्ठ बताउँछन् । उनले यो सबैको साझा चासो, जीवन र देशको भविष्यसँग जोडिएको विषय भएकोले सबैले साथ दिने बताए ।

उपत्यकाको चार कुनामा एक लाख ३० हजार रोपनी जग्गामा स्मार्ट सिटी बनाउने र एक लाखभन्दा बढी खेतीयोग्य जमिन अधिग्रहण गरी ८ लेखनको सडक बनाउने सरकारको योजनाले उपत्यकालाई ध्वस्त पार्ने अभियन्ता पदम श्रेष्ठको भनाई छ । यसले उपत्यकाको वरिपरि रहेको जंगल र जमिन पनि मासिएर उपत्यकाभित्र बस्नै नसकिने अवस्था आउने उनको भनाई छ । वातावरणीय दृष्टिले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा ल्याइएको भन्दै कमिसनका बिकेर केही एजेन्ट तथा सरकारका अधिकारीहरुले यस्ता योजना ल्याइएको बताए । यो योजनाले उपत्यकाको ३० प्रतिशत खोतीयोग्य जमिन नष्ट हुने र थप २० लाख जनसंख्या थपिएर उपत्यकामा बस्ने नसकिने विकराल अवस्था आउने उनले बताए ।

उपत्यकाभित्रका १३ वटा नदीकाे स‌रक्षण

उपत्यकाभित्र बग्ने बाग्मती–विष्णुमती, मनहरा, भाटाखुशी, हनुमन्ते, टुकुचा, बल्खु, सपनातीर्थ सहित १३ वटा नदी राज्यकै कमजोरीका कारण सुकिसकेका छन् । ती नदीहरुलार्इ पहिलेकै प्राकृतिक वहावमा ल्याउन सके यहाँकाे पर्यटन र वातावरणीय रुपमा निकै उपलब्धी हुने अभियन्ताहरुकाे भनार्इ छ । मानव सभ्यताको इतिहास बोकेका यी नदीहरु नष्ट गरेर अब बिस्तारै उपत्यकाको वरिपरि रहेका जग्गा र जंगल पनि नष्ट गर्दै जान थालिएको अभियन्ताहरुको चिन्ता छ । यसको संरक्षणका लागि सरकारलाई काठमाडौंमा मात्र विकास केन्द्रित गर्ने तर देशका अन्य भागमा विकास नै नगर्ने खराब सोच त्याग्न सबैले दवाव दिनुपर्ने अभियन्ताहरु बताउँछन् । अहिले काठमाडौंका कुना कुनामा विकासका नाममा ठूलो बजेट हालिए पनि उपलब्धी शुन्य रहेको छ । बरु, विकासका नाममा गरिएका कृयाकलापले काठमाडौं दिनहु भयानक रुपमा प्रदुषित हुँदै गएको छ । त्यसलाई रोक्न नेपाल मण्डल पर्यटन नगरी अभियानले ठूलो भूमिका खेल्ने आशा गरिएको छ ।

Loading...