किन लागे लालबाबु पण्डित युरो ४ का पछि, युरो ४ भन्दा कमका गाडी पूर्ण प्रतिबन्ध लगाउने तयारी

काठमाडाैं । सरकारले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले युरो ४ भन्दा कम मापदण्डका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बढी प्रदूषण फाल्ने सवारीसाधन नियन्त्रण गर्न कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था लागू गर्ने गृहकार्य अघि बढाएका हुन् । युरो ४ मापदण्डको प्रविधि भएको गाडीले फाल्ने धुवाँमा मानव स्वास्थ्यलाई हानि गर्ने पदार्थको मात्रा कम हुन्छ ।

गत वर्षदेखि नेपाल आयल निगमले समेत युरो ४ मापदण्डको इन्धन आयात गर्न सुरु गरिसकेको छ । त्यसैले पनि युरो ४ भन्दा कम मापदण्डको गाडी आयातमा प्रतिबन्ध लगाउन सजिलो हुने अपेक्षा गरिएको छ ।

मन्त्री पण्डितले युरो ४ वा सोभन्दा बढी मापदण्डको मात्रै गाडी आयात गर्न दिनेबारे छलफल भइरहेको जानकारी दिए । ‘बढ्दो प्रदूषण न्यूनीकरण गर्न युरो ४ भन्दा कम मापदण्डको गाडी ल्याउन नदिने दिशामा अघि बढ्न खोजेका छौँ,’ उनले भने, ‘अहिले छलफल चलिरहेको र चाँडै निर्णयमा पुग्छौँ ।’

नेपाली बजारमा भारतमा उत्पादन भएका सवारीसाधनको वर्चस्व छ । भारतले सन् २०१७ को अप्रिलदेखि युरो ३ मापदण्डसम्मका गाडी उत्पादनमा प्रतिबन्ध लगाइसकेको छ । अहिले भारतमा कम्तीमा युरो ४ मापदण्डका गाडी उत्पादन भइरहेको छ । प्रमुख आयातकर्ता देशमै युरो ४ मापदण्ड लागू भएकाले नेपालमा पनि सोही मापदण्डको गाडी ल्याउन खासै समस्या नहुने व्यवसायीहरूको भनाइ छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन्स अफ नेपालका सदस्य कपिल सिवाकोटीले सरकारको पछिल्लो निर्णय स्वागतयोग्य रहेको बताए । उनले भने, ‘कम्तीमा युरो ४ मापदण्डका सवारीसाधन मात्र आयात गर्न पाउने व्यवस्थालाई हामी सहयोग गर्छौँ । सरकारले चाँडोभन्दा चाँडो निर्णयको कार्यान्वयन गरोस् ।’ अहिले युरो ३ मापदण्डका सार्वजनिक बस, ट्रक, ट्रिपरलगायत व्यावसायिक साधन आयात भइरहेका छन् । आयात भएका युरो ४ अन्तर्गतका अधिकांश सवारीसाधनहरू भने निजी कार, जिप–भ्यान, मोटरसाइकल, स्कुटरलगायतका छन् ।

वातावरण तथा जनसंख्या मन्त्रालयका सहसचिव रामेश्वर दंगालले हाल युरो ३ मापदण्डको गाडी पनि ल्याउन पाइने व्यवस्था रहेको बताए । यसलाई राजपत्रमा सूचना प्रकाशित गरी कानुन संशोधन गर्नुपर्ने उनले बताए । ‘अहिले कम्तीमा युरो ३ मापदण्डको सवारीसाधन ल्याउन पाइने व्यस्था छ,’ उनले भने, ‘अब कम्तीमा युरो ४ मापदण्डको सवारीसाधन आयात गर्ने दिने व्यवस्था लागू गर्नुपर्छ भन्ने अनुभति भएको छ । यसका लागि ऐन संशोधन गरी राजपत्रमा सूचना प्रकाशित गर्दा हुन्छ ।’ प्रदूषण कम गर्ने भएकाले युरो ४ मापदण्डको गाडी आयातलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको भनाइ छ।

यातायात व्यवस्था विभागले विदेशबाट भित्रने सवारीसाधनको मापदण्ड भन्सार नाकामा परीक्षण गर्दै आएको छ । वातावरण विभागका सहसचिव दंगालले कम्तीमा युरो ४ मापदण्डको सवारीसाधन आयात गर्न पाउने व्यवस्था लागू भएपछि पनि विभागले नै परीक्षण गरेर आयातको स्वीकृति दिनुपर्ने बताए ।

युरो ४ का फाइदा

युरो ४ मापदण्डको इन्जिन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएकाले वातावरण प्रदूषणमा कमी आउँछ । त्यस्तै सवारीसाधनको आयुसमेत बढ्छ । त्यसो त अहिले पनि व्यवसायीले युरो ४ मापदण्डको इन्जिनयुक्त गाडी भित्राइरहेका छन् । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरमा युरो ४ को इन्धन र सोही प्रविधिको इन्जिनजडित सवारीसाधन उपयुक्त हुने उनको भनाइ छ।

युरो ४ मापदण्डको इन्धन र इन्जिनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । यसले सवारीसाधनको माइलेज क्षमता पनि बढाउँछ । युरो ४ को इन्धनले इन्जिनमा हुने इथानोलको घर्षणलाई कम गरी इन्जिन बिगार्न दिँदैन र इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ । त्यसकारण सवारीसाधनको पावर र पर्फमेन्स उत्कृष्ट हुन्छ र इन्जिनको भित्री भागलाई सधैँ सफा राख्छ ।

Loading...