जेलमा क्षमताभन्दा चार गुणा बढी कैदी, सुत्ने ठाउँ नै नभएर पालोपालो सुत्न बाध्य

सल्यान, १९ फागुन । जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरुको चाप बढ्दै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको छ । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो ।

‘हामीहरु अहिले धेरै छौँ त्यसैले राती सुत्न पनि पाइदैन’ ७० वर्षीय कैदी लाल बहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नु पर्छ, पालो कहिले दिउँसो पर्छ कहिले राती ।’ यसरी पालो लगाएर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनले बताए ।

त्यस्तै अर्का कैदीको गुनासो पनि उस्तै रहेको छ । ३२ वर्षीय धन बहादुर बुढाले पनि यसरी पालो लगाएर सुत्न पर्दा समस्या हुने गरेको बताए । उनले भने, ‘यहाँ सुत्न समेत पालो कुर्न पर्छ । आफ्नो पालो राती परेको बेला त केही हुँदैन तर दिउँसो सुत्न परेको बेला भने साह्रै अप्ठ्यारो हुन्छ ।’ यता जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले २५ जनको क्षमता रहेको कारागारमा अहिले १ सय २ जना कैदीबन्दी भएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको बताए । उनले भने, ‘रात परेपछि ४० जना कैदी सुत्छन् भने दिउँसो पनि ४०–४२ जना पालो लगाएर सुत्ने गरेका छन् ।’

अहिले कारागारमा एक बालकसहित १ सय २ जना कैदीबन्दी रहेकोमा ८८ जना पुरुष र १४ जना महिला रहेको जेलर केसीले बताए । ‘हामीसँग पर्याप्त मात्रामा कोठाहरु छैन’ उनले भने, ‘पुरुषको लागी ६ वटा कोठा रहेका छन् भने महिलाका लागी २ वटा कोठा मात्रै रहेका छन् ।’ जेलर केसीका अनुसार कैदी भन्दा थुनुवाको सङख्या बृद्धि हुदै गईरहेको छ । थुनुवामा ४२ जना पुरुष र ८ जना महिला रहेका छन् । अदालतबाट फैसला हुन ढिलाई भएका कारणले पनि यसरी थुनुवाको सङख्यामा बृद्धि भएको केसीको भनाई छ ।

‘यसरी क्षमता भन्दा बढी कैदीबन्दीका लागी राती सुत्ने समस्या भएपछि अहिले हामीले एउटा कोठामा आकाशे खाट बनाउन शुरु गरेका छौँ’ उनले भने, ‘यस्तो खाटमा १२ जनालाई सुताउन मिल्छ ।’ तर पनि पालो लगाएर सुत्नु पर्ने समस्या भने तत्कालका लागी रही रहने उनले बताए ।

जेलर केसीका अनुसार कारागार जिर्ण र साँघुरो रहेको र वार्षिक रुपमा २० प्रतिशतका दरले कैदी बढी रहेका छन् । ‘यहाँ रहेका कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडी बाहिरको जिल्ला जान मान्दैनन्’ उनले भने । जिर्ण रहेको कारागार मर्मतका लागी माथिल्लो निकायसम्म आफूले पहल गर्दा पनि कुनै वास्ता नगरिएको उनको भनाई छ ।

Loading...