कांग्रेसलार्इ उठ्नै नसक्ने गरी धरापमा पारेको भन्दै रामचन्द्रले देउवाविरुद्ध ल्याए आरोपै आरोपले भरिएको चारपन्ने पत्र

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसभित्र फेरि चर्काे विवाद सुरु भएकाे छ । कांग्रेस केन्द्रीय समितिकाे बैठकमै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध ठूला ठूला अाराेप लागेका छन । देउवामाथि पार्टीकै अन्य नेताहरुले लगाएका अाराेपहरु हेर्ने हाे भने अब देउवा उठ्नै नसक्नेगरी राजनीतिबाट थला परे भन्न सकिन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकमा उनका प्रतिस्पर्धी अर्का नेता रामचन्द्र पाैडेलले लिखित रुपमै कडा अाराेप लगाएका छन् । पाैडेलले देउवाका कारण कांग्रेसले उठ्नै नसक्ने गरी पराजय व्यहाेरेकाे अाराेप लगाएका छन् । देउवाले सरकारमा रहेर लाेकलार्इ हसाउने र कांग्रेस र कांग्रेसजनलार्इ पूरै लुक्नुपर्नेगरी लज्जित बनाएकाे पनि बताएका छन् ।

केन्द्रीय कार्यसमितिमा नेता पाैडेलले चार पानाकाे लिखित अाराेप पत्र पेश गर्दै देउवालार्इ अब राजनीतिबाट सन्यास लिन पनि सुझाएका छन् । देउवालार्इ संसदीय दलकाे नेतामा नउठन सुझाब दिँदै अरुलार्इ नेता बन्न दिन अाग्रह गरेका छन ।

देउवाले ‍कांग्रेसलार्इ उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा पुर्‍याएको आरोप पाैडेलले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेकाे पत्रमा लगाएका छन । पत्रको सुरुमा नै १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, तर, तपाई तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’

पौडेलले पार्टी सभापतिमाथि कम्युनिष्टलाई सत्ता सुम्पिएको र कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत जसभन्दा अपजसको भारी बनेको बताएका छन् ।

यस्ताे छ रामचन्द्रले देउवाका विरुद्ध केन्द्रीय समिति बैठकमा पेश गरेकाे चार पन्ने अाराेप पत्र

सभापति ज्यू ! नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एक दिन भेटेरै भनें-
देउवाजी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो, प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ, अब तपाईले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाई सानो समूहको संरक्षक बन्नपट्ट निलागेर सिंगो कांग्रेसको नेता बन्न लाग्नुहोस् । योग्यता र योगदानको आधारमा सबै साथीहरुलाई समान रुपले मुल्याङ्कन गर्न थाल्नुहोस्, म तपाईलाई पूरापुर सहयोग गर्छु, कांग्रेस एक बनाएर लैजाऔं । गुटबन्दी र भागवण्डाको अवस्था नै मेटिदिउँ, सबैको भलो हुन्छ । नत्र भने तपाईले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा बाहिर परेकाहरुलाई कसैले संरक्षण दिनपर्‍यो नि । अनि त्यसपछि गुटबन्दी कसरी मेटिन्छ ? तर तपाईं तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।

राम्रा काम गरेर आफू सुरक्षित रहनुको सट्टा साम दामका आधारमा गुटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षित राख्ने नेता र कार्यकर्ताले पार्टीमा भविश्य असुरक्षित र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहुने महसुस गर्नुपर्ने अवस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मुख हुनेछ । यो स्थितिबाट पार्टीलाई जोगाउन भरपर्दो आधार तयार गर्नु ढिलो भइसकेको छ ।

गुटको चिन्ता छाडेर मैले दिएको फर्मूलामा काम गरेको भए पदाधिकारी नियुक्ति र विभाग गठन सहजै हुने थिए । पार्टीका सबै तहमा प्रशिक्षण र संगठनात्मक गतिविधिहरु उहिल्यै अघि बढेका हुने थिए । पार्टी सशक्त हुने थियो ।

आज पार्टीका सबै निकाय, सबै भातृ, शुभेच्छुक संस्था अस्तव्यस्त छन् । तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो – आफ्नो गुटको भरणपोषण । हो तपाईले आप्नो गुट मजवुत बन्यो होला, तर विचरा कांग्रेस झन् झन् दुर्बल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुण्ठित । सुदूर पश्चिमदेखि पूर्वसम्म तपाईको जयजयकार गर्नेबाहेक अरु मर्माहत ।

भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबनै रहे । कम्युनिष्टको हातमा भए । कांग्रेसीको योगदान, पञ्चायतका कालरात्रीदेखिको बलिदान कता हो कता ? पार्टी सरकारमा गएपछि तत्काल राहतको प्याकेज ल्याएको भए पार्टीको लोकपि्रयता बढ्ने थियो, तर समय सकिएपछि अन्तमा आएर काम चलाउ भइसकेपछि जनतालाई पस्केको राहत जस पाउला भन्दा अपजसको भारी बनेको छ । समयमै किन नगरेको ?

तपाईको नेतृत्वमा न पार्टी चल्यो न सरकार । पार्टी अहिलेसम्म अपुरोको अपुरै । एउटा पनि प्रशिक्षण, एउटा पनि संगठनात्मक गतिविधि हुन सकेन । विधानअनुसारका प्रदेश अधिवेशन किन भएनन् ? धनुषा जिल्ला किन कमिटीविहीन बनायो ?

टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम, लोकपि्रय साथीहरु उम्मेदवारीबाट वञ्चित भए जसले गर्दा मैले एक पटक बैठक छाडेरै हिड्नुपर्नेसम्मको नौवत आइलाग्यो । परिणाम जित्ने ठाउँमा हारियो पनि ।

तसर्थ हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिष्ट गठबन्धनका कारण भएको होइन । यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो ।

संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ ।

केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर, प्रतिपक्षका रुपमा पनि संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने बल पुग्ने छैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ ।

राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाईं तपाईले घोर उपेक्षा गर्नुभयो, आइजी काण्डमा त्यस्तै गर्नुभो, महाभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नुभएन, न्यायाधीश नियुक्तमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिलाई थुपारेर जम्बो मन्त्रिपरिषद गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो ।

फिर्तै लिन बाध्य हुनुपर्ने नियुक्तिहरु, आफैंलाई घाँडो बनेर लाचारीपूर्वक पछि हट्नुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छवि नै ध्वस्त पारे । अनि जनतामा हाम्रो लोकपि्रयता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी ?

सार्वजनिकरुपमै उत्रेर बोलौं भने चुनावको मुखमा पार्टीलाई झन् अप्ठेरो भनिएला भनेर सोच्ना म आफैलाई नोक्सानी भएको छ । दोहोरो मर्का ब्यहोर्नुपरेको छ । पार्टीमा पैसा हावी भएको कुरा प्रकट रुपमै आइरहेको छ । पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ ।

पार्टी सरकारमा रहेको अनुभूति कतै भएन । तपाईका अति विश्वास पात्र अर्थमन्त्रीले मन्त्रालयहरुलाई विकास बजेट र राहत बजेट सबै रोकेर राखे । क्याबिनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो ब्यवहार भएको गुनासो छ ।

चुनाव प्रचण्ड वा केपी नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो । जनताको सहानुभूति र माया हामीमाथि रहन्थ्यो । आज हामीले जनताको सहानुभूति पनि भोट पनि दुबै गुमाएका छौं ।

प्रचण्डलाई एमाले सरकारबाट छुटाएर ल्याएँ भनेर गर्व गर्नुभयो, फेरि छाडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नुभयो ? वाम गठबन्धन कसरी बन्यो, प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ । मधेस आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन, उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के लियौं ? राप्रपासँगको गठबन्धनको औचित्य पुष्टि हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो ।

मैले शुरुमै भनेझैं मूल्यांकनमा चल्न र गुट मास्न तपाई तयार भइदिएको भए तपाई सिंगो कांग्रेसको हाइहाइको नेता बन्नुहुन्थ्यो । तपाईले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाई र पार्टी दुबैको हित हुन्थ्यो । इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो । भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?

आशक्तिबाट मााथि उठ्न सक्नुभएको भए गिरिजाबाबुले जतिकै पनि अलिकति उदार बनेको भए कुनै साथीलाई प्रममा अघि सारेर तपाई चुनावको महारथी बनेको भए परिणाम यो हालतमा पुग्ने थिएन । सबैले भनेको यो कुरा तपाईले वेवास्ता गर्नुभयो । परिणाम यस्तो आयो ।

पार्टी हारेको होइन, उम्मेदवार हारेका हुन्, यो कस्तो कुतर्क ? निर्वाचन पार्टीले लड्ने हो, उम्मेदवार त्यसका प्रतीक हुन् भन्ने कुरा पनि तपाईलाई हेक्का रहेनछ । सात/सातवटा प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाम छैन । कस्तो नहारेको कांग्रेस हगि !

त्यहाँ तपाईले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो । कांग्रेस जिन्दावाद भनेर सिकाउनुभाको रैनछ । आज समयले त्यो देखायो । परिणाम त्यस्तो आयो ।

त्यसैले अब तपाई पार्टीप्रति चिन्ता गर्नुहुन्छ भने दोहोर्‍याई तेहर्‍याई पद ओगट्ने काममा नलाग्नोस् । संसदीय दलको नेता अरु कसैलाइर्ं दिनोस् । आफ्नो स्वार्थको लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन, पार्टी प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान व्यक्ति हो ।

केन्द्रीय समितिका निर्णलाई उपहास तुल्याउने र उल्ट्याउने काम बारम्बार भएको छ । अनि कसरी पार्टीमा संस्थागत विकास हुन्छ ?

अब के गर्ने ?

– पार्टीलाई मूल्याङकनका आधारमा सञ्चालन गर्ने-एकता कायम गर्ने, नयाँलाई सम्मान, पुरानालाई अवसरमा प्रदान गर्ने

– अतीतमुखी हैन भविष्यमुखी कांग्रेस ।

-समाजवादीको स्वर्ग भविष्यमा हुन्छ ।

– संघीय लोकतानित्रक गणतन्त्रको कांग्रेस कस्तो हुने ?

– कम्युनिष्ट एकताले निर्माण गरेको परिस्थतिमा कांग्रेस कसरी अघि बढ्नु पर्ने ?

– कांग्रेसजनहरुमा नयाँ जागर भर्न के गर्नुपर्ने ?

– काम गर्ने कांग्रेस कसरी बनाउने ?

– कांग्रेसलाई काम गरेस कसरी बनाउने ? सभापतिको धारणा के छ ?

– केन्द्रीय समितिदेखि वडा र टोल समितिसम्म अकर्मण्यता छ । बैठकसम्म बस्दैनन् ।

– एउटा पनि नयाँ मानिसलाई कांग्रेसमा आकषिर्त गर्ने र पार्टीको संख्या र समर्थक बढाउने काममा कोही लागेको देखिन्न । नेतृत्वले के प्रेरणा दियो ?

– कांग्रेसमा जाँगर भर्ने र कांग्रेसलाई जनतामाझ कसरी पुर्‍याउने ?

– कांग्रेसका सबै तहमा विशेष पाठ्यक्रमसहित निरन्तर प्रशिक्षण र अन्तरकि्रया चलिरहन नितान्त आवश्यक छ ।

– पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौथौं महाधिवेशनमा तुरुन्तै जानू पर्छ ।

– पार्टीमा सही नेतृत्व विकास गर्न कांग्रेसलाई कांग्रेसकै रुपमा राख्न जो सही क्रियाशील कार्यकर्ता हुन्, तिनको सूची तयार गरी तिनीहरुलाई मात्र कि्रयाशील सदस्यता र्फम भर्न र नवीकरण गर्न लगाउनुपर्छ ।

– पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यहरुलाई कामको जिम्मा दिनुपर्छ । काम नगर्नेलाई सचेत गराउनुपर्छ । अनुशासन, क्रियाशीलता एवं पार्टीको नीति र आदर्शप्रति प्रतिवद्धता कांग्रेसको अनिवार्य सर्त हुन् ।

– कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नुपर्छ । सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढ्नुपर्छ ।

– कम्युनिष्टको चरित्र केन्द्रीकरणको हुन्छ । कांग्रेसले केन्द्रीकरणको विरोध र स्थानीय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सहीसलामत पुर्‍याउन हर्दम आवाज दिइरहनुपर्छ ।

-अनुशासनहीनता र अकर्मव्यताको अन्त गर्नुपर्छ ।

-कांग्रेसजनहरुले जनताको स्वार्थसँग आफूलाई गास्ने र हर सुख-दुःखमा जनतालाई सहयोग गर्न अग्रसर रहनुपर्ने ।

– विकासमुखी-विपन्नमुखी र जनमुखी संगठन निर्माण गर्ने । कांग्रेसले निमुखालाई न्याय र विपन्नलाई आयको समाजवादी आदर्शका लागि हमेशा प्रयत्नशील र संघर्षशील रहनुपर्छ ।

– कांग्रेस शहरमुखीभन्दा गाउँमुखी हुनुपर्छ । गाउँमै कृषि क्रान्ति, पर्यटनको विस्तार ऊर्जाशक्तिको विकास गराएर गाउँमै बसौं बसौं बनाउन कांग्रेस सदैव प्रयन्नशील रहनुपर्छ । जुन क्षेत्रको नेतृत्व लिने हो नियमितरुपमा त्यहीँ खटिनुपर्छ ।

-गाउँगाउँमा सहकारी संस्था, वन उपभोक्ता समिति र जल उपयोग र भू-उपयोग समिति, नदी नियन्त्रण समिति, टोल सुधार समिति, सामाजिक सुधार समिति खोलेर र संलग्न भई समाज र जनताको सेवामा क्रियाशील रहनुपर्छ ।

-यतिञ्जेल हाम्रा साथीहरुले गाउँगाउँमा बाटो, विजुली, पानी, शिक्षा, स्वास्थ्य,संचार, जस्ता पूर्वाधार निर्माणमा अग्रसरता लिएका छन् । अव हाम्रा साथीहरु गाउँमा आम्दानी र रोजगारी बढाउनेतर्फ कि्रयाशील रहनुपर्छ । हाम्रो आजको नारा नै ‘कर्मशील कांग्रेस’ हुनुपर्छ ।

– राजनैतिक नियुक्ति र संबैधानिक नियुक्तिहरुमा राजनीतिकरण र पार्टीकरणको विरोध गर्ने र सम्बन्धित विज्ञहरुलाई प्राथमिकता दिन दबाव दिनुपर्छ ।

-नेपाली समाजको र नेपाल राष्ट्रको प्रजातान्त्रीकरणको अभियान र त्यसका लागि टोल-टोलसम्म प्रशिक्षण अभियानसमेत कांग्रेसले सञ्चालन गर्नुपर्छ ।

-कम्युनिष्ट एकताको परिणाम नेपाल एकात्मकतावादतिर, सर्वसत्तावादतिर उन्मुख हुँदै जान सक्छ । यो प्रवृत्तिको सामना गर्न, आफूभित्र मात्र तानतुन र जोडघटाउको नेतृत्वबाट सम्भव छैन । स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्दछ । उच्च मनोवल विना कम्युनिष्ट शक्तिलाई कडा चुनौती दिन सकिन्न । कांग्रेसजनले बेलैमा यो कुरा बुझ्न जरुरी छ ।

(नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको विचार)

Loading...