सबैले साथ छोडेर एक्ला भएका बाबुरामले अब पार्टीको नाम फेर्ने

काठमाडौं, १३ फागुन । सहकर्मीहरुले साथ छाेड्दै गएपछि एक्ला भएका डा. बाबुराम भट्टराईले अब अाफ्नाे पार्टीकाे नाम पनि फेर्ने भएका छन् । नयाँ शक्ति नेपाल भनेर एक वर्षअघि गठन गरिएकाे पार्टीकाे नामलार्इ बदल्ने निर्णय गरेका हुन् ।

पार्टीकाे संघीय परिषदकाे विस्तारित बैठकबाट बाबुरामले उक्त निर्णय गराएका हुन् । लुम्बिनीमा बसेकाे परिषदकाे विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय पनि गरेकाे छ । बैठकको निर्णयमा भनिएको छ, महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।’

बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नै पुनः पार्टीकाे संयोजक ताेकेको छ । त्यसैगरी बैठकले सात प्रदेशका इन्चार्ज ताेकेकाे छ । जसअनुसार प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।

Loading...