खुल्ला दिसा गर्नेहरुलार्इ धमाधम पक्राउ गरी खोरमा जाक्दै प्रहरी, शुक्रबार मात्र दर्जन पक्राउ

नेपालगन्ज, ११ फागुन । शौचालय बाहिर सार्वजनिक स्थानमा दिसा गर्दै हुनुहुन्छ भने होसियार भइराख्नुहोस् । तपाईँ प्रहरीको फन्दामा पर्नुहुनेछ । नेपालगन्ज उप–महानगरपालिकाले झाडीमा दिसा गर्नेलाई प्रहरीको खोरमा पुर्या‍एको छ ।

नगरलाई खुला दिसामुक्त बनाउने अभियान चलिरहेका बेला झाडीमा लुकीछिपी दिसा गर्नेलाई रंगेहात पक्राउ गरी प्रहरी खोरमा पुर्या‍एको हो । शुक्रवार उपमहानगरका विभिन्न ठाउँबाट खुला रूपमा दिसा गरिरहेका करिब एक दर्जन नागरिकलाई पक्रेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभियानलाई तीव्रता दिइरहेका बेला खुला ठाउँमा लुकेर दिसा गरी अभियानलाई नै चुनौती दिएको भन्दै उपमहानगरले प्रहरी लगाउँदै तीन घण्टासम्मका लागि नियन्त्रणमा लिएको बताएको छ ।

शुक्रवार मात्रै प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको हो । खुला दिसामुक्त हुन बाँकी रहेका वडामा अनुगमन गर्ने क्रममा झाडीमा दिसा गरिहेको भेटाएपछि प्रहरीकहाँ पुर्या‍इएको उप–महानगरपालिका खुला दिसामुक्त अभियान फोकल पर्सन ओभिराज आचार्यले जानकारी दिए ।

नेपालगञ्जको खुला दिसामुक्त अभियानलाई चुनौती दिनेलाई अब कानुनी कारबाही थालिएको हो । शुक्रवार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुर निवासी कन्हैयालाल पथिक, रामकिशोर खटिक, मुन्ना धोबी, मिलन धोबी, लक्ष्मीनारायण कुम्हार, बलिराम धोबी, राम बहोरी साहु, भोगले धोबी, राम मनोहर कुम्हार, रामु धोबी र कैलाश धोबी रहेका छन् ।

खुल्ला ठाउँमा दिसा नगर्न पटक–पटक आग्रह गरे पनि नटेर्दा वडा प्रहरी कार्यालय नेपालगन्ज, जनप्रतिनिधि र उपमहानगरपालिकाको कर्मचारी टोलीले शुक्रवार बिहान उनीहरूलाई पक्राउ गरेको थियो ।

नियन्त्रणमा लिएका स्थानीयलाई तीन घण्टासम्म खुला दिसामुक्त अभियान र सरसफाइको चेतनाबारे प्रशिक्षण दिएर छाडिएको प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जलाई खुला दिसामुक्त घोषणा गर्ने मिति नजिकिँदै गर्दा विभिन्न बाधाहरू आइपरेको भन्दै उप–महानगरपालिकाले अनुगमनसँगै काबारहीको प्रक्रिया पनि अघि बढाएको हो ।

अधिकांश मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्रमा अभियानलाई अघि बढाउन समस्या देखिएको छ । धेरैको घरमा शौचालय नै छैनन्, भने केही भएको घरमा पनि प्रयोगमा नल्याइएको पाइएको छ ।

त्यस क्षेत्रका हुनेखाने परिवारका सदस्यहरूले समेत झाडी र खुला ठाउँमा दिसा गर्ने गरेका छन् । उप–महानगरपालिकाले विगत तीन वर्षदेखि स्थानीय नागरिकलाई शौचालय निर्माणका लागि सम्झाउँदा पनि नमानेपछि शुक्रवार बिहान उपमहानगरपालिकाका कर्मचारी जनप्रतिनिधि र प्रहरीसहित खुल्ला दिसा गर्नेलाई पक्राउ गर्न उदयपुर पुगेका थिए ।

बिहान करिब ९ बजेतिर प्रहरी नियन्त्रणमा रहेका स्थानीय बासिन्दालाई १२ बजेतिर वडा प्रहरी कार्यालयले कागज गराएर छाडेको हो । फक्राउ परेका स्थानीले तीन दिनमा शौचालय निर्माण गर्ने कागजमा हस्ताक्षर गरेपछि प्रहरीले छाडेको वडा प्रहरी कार्यालयका इन्चार्ज राजनकुमार गौतमले बताए ।

‘धेरै पटक आग्रह गर्दा पनि उनीहरूले खुल्ला ठाउँमै दिसा गरेको पाइयो,’ उनले थपे, ‘नियन्त्रणमा लिएर कारबाही गर्ने भन्दा पनि उनीहरूलाई सचेत गराउनका लागि पक्राउ गरेका हौँ, अब उनीहरूले तत्काल शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । खुल्ला दिसा गर्नेविरुद्ध अनुगमनमा स्वयम् खटिएका वडा नम्बर १७ का वडाअध्यक्ष वीरेन्द्र साहले पटक–पटक सम्झाउँदा पनि नमानेपछि चेतावनी स्वरूप प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए ।

‘हामी निर्वाचित हुनअघि नै अभियान सञ्चालित थियो, त्यसैबेलादेखि नै उपमहानगरले शौचालय निर्माणका लागि आग्रह गरेको हो,’ उनले भने, ‘हामी आएपछि पनि पटक–पटक आग्रह गर्यौं‍, तर कसैले टेरेनन्, हामीले सचेतनाका लागि दिसा गरिरहेका ठाउँबाट नैतिक कारबाही स्वरूप नियन्त्रणमा लिन लायौँ ।’

वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिँदा समग्र उपमहानगरपालिका क्षेत्रलाई खुल्ला दिसामुक्त घोषणा गर्न कठिनाइ भएको वडाअध्यक्ष शाहको भनाइ छ । उपमहानगरपालिकाको पहलमा विपन्न तथा गरिब परिवारका लागि शौचालय बनाउन निःशुल्क रूपमा रिङ, सिट प्यान लगायतका सामाग्री दिइएको छ ।

तर, अधिकांशले खाडल खनेर रिङ र सिट प्यान बसालेपनि उपयोग गरेको देखिँदैन । बाँके जिल्लालाई सन् २०१७ भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको थियो । तर, स्थानीय तहले नै घोषणा गर्न नसकेपछि समग्र जिल्लाकै अभियान प्रभावित भएको छ ।

२३ वडा रहेको उपमहानगरपालिकामा १६ वटा वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने अझै ७ वटा वडा खुला दिसामुक्त हुन बाँकी नै रहेको छ । उपमहानगरपालिकाले शौचालयमा दिसापिसाब गरी नगरलाई सफा बनाउन शौचालय निर्माणका साथै अनुगमन कार्यलाई समेत तीव्रता दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

Loading...