अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर

काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ ।

नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ ।

लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो । एक सैनिक पुमा हेलिकप्टर बिक्री भएको छ ।

विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो ।

एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ । उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन । उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ ।

Loading...