उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो

सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए ।

तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको प्रयास भइरहेका बेला बेलिब्रिज भाँचएिको हो । बेलिब्रिज बनेपछि तातोपानी नाका खुलाउने प्रयास भएको भए पनि पुल भाँचिएपछि तातोपानी नाका सञ्चालनमा फेरि ढिलाई हुने भएको छ ।

भदौदेखि सुरु गरिएको ५० मिटर लामो बेलिब्रिज केही दिनमै निर्माण सम्पन्न हुने चरणमा थियो । निर्माणका क्रममा कमजोर फाउण्डेसन बनाएकाले पुल भाँचिएको स्थानीयको आरोप छ । बन्धन भगवती निर्माण कम्पनीले ठेक्का पाएर पुल निर्माण गरिरहेको थियो । बेलिब्रिज जोड्ने क्रममा भार असन्तुलित भएका कारण केही भासिएको सडक डिभिजन कार्यालयलाई उधृत गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

‘मैले सम्पर्क गर्दा लोड ब्यालेन्स नभएर भासिएको छ, क्रेन ल्याएर छिटै यसको निर्माण सम्पन्न गर्ने ठेकेदार र सडकका प्राविधिकले बताएका छन्’, प्रजिअ तामाङले भने, ‘काम गर्ने क्रममा पुल केही भासिएर बीचको भाग तल पुगेको रहेछ ।’

Loading...