फागुन २१ गते संघीय संसदको प्रथम अधिवेशन आह्वान

काठमाडौं, ७ फागुन । फागुन २१ गते संघीय संसदकाे प्रथम अधिवेशन हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन अाह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

सो धारामा प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन राष्ट्रपतिले आव्हान गर्ने उल्लेख छ । राष्ट्रपतिले २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक आह्वान गर्नुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि प्रतिनिधि सभाको निर्वाचन सकिएको तीन महिनापछि मात्रै राष्ट्रपतिले संसद अधिवेशन आव्हान गरेकी छन । मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्ष तर्फ एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन् । तीन जना नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेपनि राष्ट्रपतिले मनोनयन गर्न बाँकी छ ।

Loading...