विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु

कालिकाेट । संसदीय व्यवस्थाका विरुद्ध नयाँ संघर्षकाे थालनी गरेकाे नेपाल कम्युनिष्ट पार्टीले गाउँ गाउँमा जनसत्तामार्फत विकास निर्माणका काम पनि सुरु गरेकाे छ । यसैक्रममा नेकपाकाे जनपरिषद कालिकाेटले सडक निर्माणकाे काम थालनी गरेकाे छ ।

काठमाडाैंबाट इन्जिनियरहरुकाे टाेली लिएर जनपरिषदले कर्णाली राजमार्गकाे खुलालुबाट कालिकाेटकाे मालकाेटसम्मकाे सडक निर्माण कार्य थालेकाे हाे । नेकपाले उक्त कार्यका लागि लाग्ने सबै स्राेत जुटाउने घाेषणा पनि गरेकाे छ । यही फागुन १ गते कर्णाली राजमार्गकाे खुलालुमा एक कार्यक्रमकाे अायाेजना गरी उक्त सडक निर्माण कार्यकाे उद्घाटन गरिएकाे हाे ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्यूराे इन्चार्ज एटमले उक्त सडक उद्घाटन गरेका हुन् । खुलालुदेखि मालकाेटकाे लैफूसम्म निर्माण गर्न थालिएकाे उक्त सडककाे लम्बार्इ २३ किलाेमिटर रहेकाे छ । निकै भिरालाे र चट्टानै चट्टानकाे बाटाे रहेकाले काम गर्न जटिल भए पनि अाफूहरुले सडक निर्माण गरेरै छाड्ने नेकपाका केन्द्रीय सदस्य एटमले उद्घाटनका क्रममा बताए ।

नेपाल सरकारले २५ वर्ष पहिलेदेखि उक्त सडक निर्माणकाे घाेषणा गरे पनि अहिलेसम्म सडक निर्माण हुन सकेकाे थिएन । सशस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघिदेखि निर्माणको योजना बनाईएको उक्त सडक २५ वर्षसम्म पनि नबनेपछि नेकपाले निर्माण गर्न लागेको हो । उक्त सडकका लागि धेरै पटक बजेट विनियाेजन गरिए पनि कामै नगरेर वजेट सक्काइएकाे स्थानीयले बताएका छन । बीच बीचमा माटाेका पाखा खन्नुपर्ने सजिलाे ठाउँमा खनिएकाे भए पनि भिरालाे र चट्टान भएकाे भागमा सडक खनिएकाे छैन ।

नेकपाले उक्त सडककाे सर्भे तथा इस्टिमेट तयार गर्नका लागि काठमाडाैंबाट पाँच सदस्यीय इन्जिनियरहरुकाे टाेली कालिकाेट पठाएकाे थियाे । जनगणातान्त्रिक इन्जिनियर्स एशाेसियसनका केन्द्रीय अध्यक्ष सुरेशकुमार चाैधरीकाे नेतृत्वमा गएकाे पाँच सदस्यीय टाेलीले उक्त सडककाे सर्भे गर्नुका साथै एक माइक्राे हाइड्राेकाे डिस्चार्ज म्यापिङ र एक सहिद स्मारक भवनकाे डिजाइन तथा लेअाउट तयार गरेकाे छ । टाेलीमा इन्जिनियरहरु सुजन देव, नविन यादव, सन्ताेष बजगार्इ सहभागी रहेका थिए ।

नेकपाले जनयुद्ध दिवसको अवसरमा उक्त सडककाे उद्घाटन गरेकाे हाे । साे क्रममा कर्णाली राजमार्गकाे कालिकाेटमा पर्ने खुलालुमा एक सभाकाे अायाेजना गरिएकाे थियाे । सभामा नेकपाका केस एटम, इन्जिनियर एशाेसियसनका अध्यक्ष सुरेश चाैधरीसहितले सम्वाेधन गरेका थिए ।

स्मरण रहाेस तत्कालीन नेकपा (माअाेवादी)ले राज्यका विरुद्ध सशस्त्र संघर्ष गरिरहँदा राेल्पामा पनि सडक निर्माण गरेकाे थियाे । राेल्पाकाे नुवागाउँदेखि थवाङसम्मकाे उक्त सडक युद्धरत माअाेवादीले निर्माण गरेपछि राष्ट्रिय अन्तराष्ट्रिय चर्चा पनि भएकाे थियाे । 

 

Loading...