सपथमा गम्भीर त्रुटी गरेको भन्दै केपी ओलीलार्इ फेरि सपथ गराउन माग

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सपथ लिने क्रममा ‘देश’ छुटाएको भन्दै नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई दोहो¥याएर पद तथा गोपनीयताको सपथ लिन सुझाव दिएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले सपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहो¥याएर सपथ लिएका थिए । प्रधानमन्त्री केपी ओलीले सपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवश होइन। त्यसर्थ राष्ट्रपति समक्ष पुनः सपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । सपथमा देश छुट्नु राम्रो होइन ।’

ओलीले ईश्वरको नाम नलिन खोज्दाखोज्दै देशसमेत भन्न भुलेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जे भन्यो त्यही सपथ लिनुपर्नेमा उनले ईश्वर शब्द छल्न खोज्दा ‘देश’ शब्द पनि छुटेको थियो ।

सामाजिक सञ्जालहरूमा ओलीको सपथलाई लिएर विरोधीहरूले आलोचना गरिरहेका छन् । निर्वतमान वाणिज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पनि सपथमा ‘देश’ शब्द छुटाएको भनेर आलोचना गरेका छन् ।

यता नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भने ओलीले प्रधानमन्त्री बनेलगत्तै देशबिकाशका लागि गरेको घोषणा राम्रो भएको प्रतिक्रिया दिएका छन् । बिहीबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले नवनियुक्त प्रम ओलीले पहिलो महत्वपूर्ण नीतिगत घोषणा गरेको बताएका छन् ।

प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको स्थापना गर्ने घोषणा एकदमै उत्कृष्ट रहेको भट्टराईको बुझाई छ । ओलीलाई बधाई तथा शुभकामना दिदै डा भट्टराईले भनेका छन् -‘नवनियुक्त प्रम ओलीको पहिलो महत्वपूर्ण नीतिगत घोषणा- प्रत्येक स्थानीय तहमा कमसेकम एक प्राविधिक शिक्षालयको स्थापना- विल्कुल सही छ!समृद्धिको आधार नै दक्ष जनशक्ति हो!तर यो घोषणा मात्र नहोस्!हाम्रो विगतको अनुभव सुखद छैन।त्यो परम्परा तोड्नोस् प्रमज्यू, हार्दिक शुभकामना !’

यस्तो छ ओली सरकारको पहिलो निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिए ।

बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको मन्त्री थापाले बताए ।

मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्तसम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने स्पष्ट पारेका छन् ।

कालोधन संरक्षण गर्न खोजेको भन्ने आरोप लागेपछि ओलीले बिहीबार प्रधानमन्त्री बन्नासाथ मुख खोलेका हुन् । ओलीले केही दिन अघि व्यावसायीसँगको भेटमा कालोधनका विषय उठाएका थिए । जुन विषयले मिडियामा निकै चर्चा पाएको भने विपक्षी पार्टीहरुले मसला बनाएका थिए ।

तर, प्रधानमन्त्री ओलीले त्यसको स्पष्टीकरण दिँदै भने -‘कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा म र मेरो सरकार रहने छैन् । मैले फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएकोमा दुःख लागेको छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हित विपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने बताए । स्वदेशभित्रैको सानो पूँजी परिचालन गरेर जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन सकिने छ भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहने स्पष्ट पारे ।

जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वदेशमा नै रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने प्रयास गरिने बताए । अध्यक्ष ओलीले कानुनको राज, पारदर्शिता र स्वच्छतामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे ।

Loading...