नेपालद्वारा केन्या ३ विकेटले पराजित

काठमाडाैं । नेपालले केन्यालार्इ ३ विकेटले पराजिन गरेकाे छ । नामिवियामा भइरहेकाे अार्इसीसी विश्व डिभिजन २ क्रिकेट प्रतियाेगितामा नेपालले महत्वपूर्ण जित हात पारेकाे हाे ।

आठौँ क्रमका ब्याट्सम्यान सोमपाल कामीले इनिङकै अन्तिम बलमा १ रन लिँदै सोमबार नेपाललाई केन्याविरुद्ध ३ विकेटको सनसनीपूर्ण जित दिलाएका हुन् । प्रतियोगितामा नेपालले महत्वपूर्ण चौथो खेलमा केन्याको सामना गरेको थियो । केन्याले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन जोड्यो ।

चारमध्ये तीन खेल जितेर ६ अंक बटुलेको नेपालले शीर्ष दुई स्थानको सम्भावना यथावत् राखेको छ । नामिबियासँग १७ रनले हारेको क्यानडाले चार खेलबाट ६ अंक जोडेको छ । रनरेटमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा छन् । नामिबियाले तीन खेलबाट ४ अंक जोड्दै शीर्ष दुईमा पुग्ने आशा बलियो बनाएको छ । ओमानलाई हराएको युएईले चार खेलबाट ४ अंक जोडेको छ । ओमानले २ अंक जोडेको छ भने केन्याले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

क्यानडाको हारसँगै समीकरण रोमाञ्चक बनेको छ । समीकरणअनुसार क्यानडा, नेपाल, युएई र नामिबियामध्ये दुई टोली शीर्ष दुईमा रहने प्रबल सम्भावना छ । नेपालले अन्तिम खेलमा क्यानडालाई हराउँदा लगभग डिभिजन–१ मा उक्लनेछ । क्यानडासँगको हारले नेपालको भाग्यनिर्धारण अन्य टोलीको नतिजामा भर पर्नेछ । आउँदा दुई खेलमा जित निकालेमा नामिबियाको शीर्षस्थानमा रहने सम्भावना त्यत्तिकै छ । युएईको एक खेल बाँकी छ । अन्तिम खेलमा हारको सामना गरेमा युएई डिभिजन–२ मै रहनेछ । जितेमा युएई दोस्रो स्थानमा उक्लनेछ ।

नेपालका स्पिनर सन्दीप लामिछाने जीवनकै उत्कृष्ट लयमा बलिङ गरिरहेका छन् । नेपालको जितमा नायकमध्ये एक मानिएका सन्दीपले केन्याका पाँच ब्याट्सम्यानलाई पेभिलियनको बाटो देखाएका थिए । उनले यसका लागि मात्र २० रन खर्चेका थिए । यसअघि सन्दीपले ए लिस्टमा नामिबियाविरुद्ध उत्कृष्ट बलिङ रेकर्ड राखेका थिए । उनले नामिबियाविरुद्ध १८ रन खर्चेर ४ विकेट हात पारेका थिए । सन्दीप प्रतियोगिताकै उत्कृष्ट बलरका रूपमा अगाडि बढिरहेका छन् । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थानमा छन् । उनले चार खेलबाट १४ विकेट लिएका छन् । यसक्रममा सन्दीपले ३५.२ ओभर बलिङ गर्दै ९७ रन खर्चेका छन् ।

लक्ष्य पछ्याएको इनिङमा शरद भेषवाकरलाई गुमाउँदा नेपाल ८२–५ को अवस्थामा थियो । यस अवस्थामा केन्या हाबी देखिएको थियो । भरपर्दा ब्याट्सम्यानहरू सस्तो रनमा आउट भएपछि अन्तिमतिरका ब्याट्सम्यान मात्र बाँकी थिए । तर, अरिफ सैख र रोहितकुमार पौडेलले छैटौँ विकेटका लागि ८७ रनको साझेदारी गर्दैै नेपाललाई जितनजिक पु¥याए । रोहित यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । रोहितले ८२ बलको सामना गरी ४७ रन जोडे । अरिफले ८२ बल खेल्दै ४२ रनको योगदान दिए । रोहितले १ चौका तथा अरिफले २ चौका प्रहार गरेका थिए ।

केन्याविरुद्ध महत्वपूर्ण ४२ रन जोडेका नेपालका कप्तान पारस खड्का सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौँ स्थानमा छन् । पारसले चार खेलबाट १ सय २९ रन बनाएका छन् । उनले १ अर्धशतक बनाएका छन् । पारसले अहिलेसम्म ८ चौका र ७ छक्का प्रहार गरेका छन् । सर्वाधिक रन बनाउने क्यानडाका गुनसेकराले चार खेलमा २ सय ७ रन जोडेका छन् ।

पहिलो ब्याटिङ गरेको केन्याको ओपनिङ निकै बलियो देखियो । करिम र ओवान्डाले पहिलो विकेटका लागि १६.६ ओभरमा ६५ रनको साझेदारी गर्दै केन्यालाई उत्कृष्ट सुरुवात दिलाए । करिमले सय बलमा ४२ रन बनाए । ओवान्डाले ४६ बलमा ५ चौकाको सहयोगमा ४१ रन जोडे । यसबाहेक ओबुयाले २७ रन, ओधिम्बोले २४ र गोचेले २३ रनको योगदान दिएपछि केन्याले ५० ओभरमा १ सय ७७ रन बनाउन सक्यो ।

Loading...