भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो ।

यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो । निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न चुनौती भए पनि पुनःनिर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए ।

समितिका सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्पपीडितका लागि पछिल्लो समय थप गरिएको रु एक लाखको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिए । “स्रोत अभावमा भूकम्पपीडितले आवास निर्माण गर्न नसकेकाले थप रु एक लाख दिने निर्णय गरेको हो, यसका लागि विश्व बैंकले रु ४० अर्ब दिने सहमति भएको छ”, उनले भने ।

समितिको उपाध्यक्ष रहेका नेकपा ९एमाले०का नेता भीम रावलले भूकम्पपछिको पुनःनिर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्दा भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको छ”, उनले भने ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनुपर्ने आवश्यकतालगायतका विषयमा जानकारी गराए । “प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनःनिर्माणमा चुनौती थपिए पनि तिनको सम्बोधन गर्दै निजी आवास पुनःनिर्माण लक्ष्यको करिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको छ”, उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट रु चार खर्बभन्दा बढी रकम प्रतिबद्धता आएकाले पुनःनिर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

समितिका सदस्य तारानिधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए । बैठकमा समिति सदस्य किशोर थापा, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर र कृष्णप्रसाद दवाडीलगायतले पुनःनिर्माण छिटो गर्ने विषयमा विचार व्यक्त गरे ।

Loading...