प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रभित्र चर्को विवाद, चौधरी भन्छन, ‘हदैसम्मको वेइमानी भयो’

धनगढी, २१ माघ । मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । एमालेसँग बार्गेनिङ गरेर बल्लबल्ल दुई प्रदेशको मुख्यमन्त्री पाएको माकेभित्र किचलो पैदा भएको छ ।

प्रदेश नम्बर ७ ले मुख्यमन्त्रीको लागि डोटी ख बाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेसँगै प्रदेश पार्टी दुई सूहमा विभाजन भएको छ । प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक लक्ष्मणदत्त जोशीले एकलौटी रुपमा त्रिलोचना भट्टलाई सिफारिस गरेको भन्दै मुख्यमन्त्रीका दाबेदार वीरमान चौधरी र मानबहादुर धामीले आपत्ति जनाएका छन् । उनीहरुले इन्चार्ज र संयोजकले पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् ।

पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका धामी दार्चुला र चौधरी कैलाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । चुनावी अभियानको क्रममा माओवादी केन्द्रले कैलाली र कञ्चनपुरमा थारुलाई मुख्यमन्त्री दिने बताएको तर अहिले धोका दिएको स्थानीय थारु नेताहरुले बताएका छन् । त्यसैगरी दार्चुलालाई पनि मुख्यमन्त्रीको आवश्वासन दिइएको थियो ।

पार्टीमा कुनै छलफल नै नगरी इन्चार्ज र संयोजकले मुख्यमन्त्री केन्द्रमा सिफारिस गरिएको चौधरीले बताए । उनले जसलाई बनाएपनि विधि पुर्याएर सिफारिस गरिनुपर्ने बताउँछन् । उता धामीले भने इन्चार्ज भट्ट र संयोजक जोशीले लुकेर पार्टीका पद्धतिभन्दा बाहिर गएर निर्णय गरेको भन्दै आफूले नमान्ने बताएका छन् । उनले आफूले संसदीय दलको नेताहुँदै मुख्यमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दार्चुला ख बाट निर्वाचित धामीले पार्टीका नेताहरुले विधि मिचेपनि आफूले लोकतान्त्रिक प्रक्रियाअनुसार संसदीय दलको नेता र मुख्यमन्त्री दुबैमा उम्मेदवारी दिने बताएका छन् । उनले आफ्नो निर्णयले पार्टीलाई सुदृढ गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

असन्तुष्टि सार्वजनिक भएसँगै माओवादी केन्द्रका कार्यालय सदस्य समेत रहेका प्रदेश इन्चार्ज भट्टले सबै जिल्ला इन्चार्जहरुसँग व्यापक छलफल गरेर मुख्यमन्त्रीमा सिफारिस गरिएको बताएका छन् ।

Loading...