उपन्यास ‘नथिया’काे विमोचन

काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो ।
सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी ।

त्यतिवेला उमा बादी सिंहदरबारको पर्खाल चढ्दै थिइन् । सिंहदरबारभित्र पस्ने उनको प्रयासलाई प्रहरीले रोकिरहेका थिए । राज्यसत्ताको विभेदविरुद्ध यो नै बादी समुदायको पहिलो सशक्त आन्दोलन थियो । यही आन्दोलनका कारण उमा बादी चर्चामा आइन् । उनको फोटो पत्रपत्रिकामा छापिन थाल्यो । बहसका मञ्चहरूमा उनी देखा पर्न थालिन् ।

आन्दोलनको १० वर्षपछि उनी फेरि काठमाडौंमा देखा परिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार उनले सरस्वती प्रतीक्षाको उपन्यास नथियाको विमोचन गरिन् । उनी अहिले प्रदेश सांसद भएकी छिन् । सरस्वतीको उपन्यास भने उमा बादीको त्यही आन्दोलनबाट सुरु भएको छ ।

उमाले उपन्यास विमोचनपछि बोल्दै आफूले कम्मर कसेर आफ्नो समुदायको समस्या सडकमा ल्याएको बताइन् । यसअघि धेरै मञ्चमा आफ्नो कुरा राखे पनि उपन्यासबारे बोल्न गाह्रो भएको उनले बताइन् । उनले भनिन्, ‘किताबका अधिकांश कुरा साँचा हुन्, किताबमा बादीसँगै लेखकका पनि आँसु छन्, यो किताब बादी समुदायको गीता हो ।’

उपन्यासबारे बोल्दै लेखक पत्रकार नारायण वाग्लेले नथियामार्फत सरस्वतीले स्वतन्त्रताको खोजी गरेको बताए । उनले भने, ‘नथिया स्वतन्त्रताको बाधक हो, बादीहरूको नथिया प्रथालाई लेखकले दुत्कारेकी छिन्, पात्रहरूको चित्कारले पनि नथियालाई अस्वीकार गरेको प्रस्ट हुन्छ ।’ कतिपय पात्रमा भने लेखक हावी भएको महसुस हुने उनले बताए ।

उपन्यास कवितात्मक भएको उनको भनाइ छ । सरल भावको कविताको शक्ति उपन्यासमा भेटेको वाग्लेले बताए । उनले भने, ‘माघमा पानी परेकै दिन किताब पाएको थिएँ, पानीका छिटाबाट किताब जोगाएर पढेँ, तर आँसुको ढिकाबाट जोगाउन सकिनँ ।’

सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सरस्वतीको उपन्यास निकै शक्तिशाली भएको बताइन् । उपन्यासको नायक कुनै ‘भिलेन’को एक मुक्कामा लड्ने प्रकारको नरहेको बताइन् । उनले भनिन्, ‘बादीको एउटै नथिया खोल्न प्रतिस्पर्धा गर्ने र पटकपटक एउटै नथियामा रुमल्लिने पुरुष मानसिकता कमजोर छ ।’

सरस्वतीले बादी समुदायको भोगाइ दर्दनाक रहेको भन्दै आफूले सबै तथ्यांक उपन्यासमा राख्न नसकेको बताइन् । सबैभन्दा धेरै राज्यबाट नै पीडित भएको उनले सुनाइन् ।

Loading...