दोस्रो त्रैमासिकमा कुन वित्तीय संस्थाकाे नाफा कति ?

काठमाडौं । चालु अार्थिक वर्षकाे दाेस्राे त्रैमासिकमा वित्तीय संस्थाहरुकाे नाफा यसअघिकाेभन्दा धेरैले बढेकाे छ । गत अावभन्दा यसपटक वित्तीय संस्थाहरुकाे खुद मुनाफा बढेकाे हाे । यहाँ केही वित्तीय संस्थाहरुकाे नाफा कति बढ्याे भन्ने बारे विवरण दिइएकाे छ ।

हिमालयनको नाफा १ अर्ब १० करोड

चालू आवको दोस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आवको तुलनामा ७ दशमलव ८८ प्रतिशत बढी हो । गत आवमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी सो अवधिसम्ममा २५ प्रतिशत बढेर ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाएको हो । बैंकले वैदेशिक मुद्रा विनिमयबाट ६ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड निक्षेप संकलन गरी ८२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोष ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले सम्भावित जोखिमबापतको व्यवस्थामा २८ करोड ६ लाख रुपैयाँ छुट्याएको छ भने २७ करोड २२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

आइसिएफसीको नाफा ७१ करोड

आइसिएफसी फाइनान्सको चालू आवको दोस्रो त्रैमासमा ७१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ८८ करोड २१ लाख पुगेको छ भने जगेडा कोषमा २५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीले ७ अर्ब ५७ करोड निक्षेप संकलन गरी ६ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी १२ करोड १५ लाख २२ हजार रहेको छ भने सञ्चालन नाफा ५ करोड २१ लाख ८३ हजार रुपैयाँ रहेको छ । सम्भावित जोखिमका लागि १ करोड ४४ लाख छुट्याएको कम्पनीले पुस मसान्तसम्ममा ५ करोड १७ लाख ३ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव १६ प्रतिशत रहेको छ ।

ज्योतिको नाफा १४ करोड २५ लाख

चालू आवको दोस्रो त्रैमासमा ज्योति विकास बैंक लिमिटेडले १४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५ दशमलव २२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी २ गुणा बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड रहकोमा चालू आवमा बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकले वैदेशिक विनिमयबाट ३ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा ४८ प्रतिशत बढेर २१ करोड ९४ लाख र खुद ब्याज आम्दानी ५१ दशमलव १९ प्रतिशत बढेर ३४ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

बैंकले १२ अर्ब ४३ करोड कर्जा संकलन गरी ७५ करोड रुपैयाँको लगानी गरेको छ । त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव २९ प्रतिशत, प्रतिसेयर नेटवर्थ रू. १ सय १३ दशमलव २६ र तरलता २७ दशमलव ६२ प्रतिशत रहेको छ ।

सिभिल लघुवित्तको नाफा ३६ प्रतिशत बढ्यो

चालू आवको दोस्रो त्रैमासमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा ३६ दशमलव ५२ प्रतिशत बढेको छ । गत आवमा ३३ लाख ७० हजार रुपैयाँ रहेको कम्पनीको खुद नाफा चालू आवमा बढेर ४६ लाख १ हजार रुपैयाँ पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष साढे ७१ प्रतिशत बढेर १ करोड २२ लाख रुपैयाँ पुगेको छ । कर्जा तथा सापटी गत आवको तुलनामा २ गुणा बढेर ४६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७ दशमलव ५२ प्रतिशत बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३६ दशमलव ५१ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ८६ प्रतिशत रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १ सय दशमलव ५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ रू. १ सय ११ दशमलव ६३ र तरलता ८ दशमलव ९१ प्रतिशत रहेको छ ।

हाम्रोको खुद नाफा २ करोड २१ लाख

चालू आवको दोस्रो त्रैमासमा हाम्रो विकास बैंकले २ करोड २१ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी गत आवको तुलनामा गुणा बढेर ४५ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ । बैंकले सो अवधिमा १ अर्ब २९ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकको जगेडा कोषमा २ गुणा बढेर १० करोड ३६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । बैंकले सम्भावित जोखिमका लागि ८५ लाख ६६ हजार रुपैयाँ छुट्याएको छ । बैंकले सो अवधिमा ४ करोड ८७ लाख ९९ हजार खुद ब्याज आम्दानी गरेको छ भने ३ करोड ४८ लाख १८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९७ प्रतिशत र प्रतिसेयर आम्दानी रू. ९ दशमलव १५ रहेको छ ।

लक्ष्मी लघुवित्तको निक्षेप ५२ प्रतिशत बढ्यो

चालू आवको दोस्रो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको निक्षेप ५२ प्रतिशत बढेको छ । गत वर्ष ५२ करोड २८ लाख निक्षेप संकलन गरेको कम्पनीले यस त्रैमासमा ७९ करोड ६६ लाख ४६ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । सो अवधिमा कम्पनीले २ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गत वर्षको तुलनामा ३७ प्रतिशत बढी हो । २४ करोड २० लाख चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा सो अवधिमा ४ करोड ४५ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा १५ प्रतिशत कम हो । गत वर्ष कम्पनीले ५ करोड १८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव १३ प्रतिशत रहेको छ भने सम्भावित जोखिम शीर्षकमा ९८ लाख ३३ हजार रकम छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक रू. ३६ दशमलव ८३ रहेको छ ।

नेपाल बैंकको नाफा १३ प्रतिशत घट्यो

चालू आवको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा १३ प्रतिशत घटेको छ । गत वर्ष १ अर्ब ८९ करोड नाफा आर्जन गरेको यस बैंकले चालू आवमा १ अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन रहेको छ । सो अवधिमा सञ्चालन नाफा साढे २८ प्रतिशत बढे पनि खराब कर्जा संकलनमा १२ प्रतिशत घटेपछि नाफा घट्न पुगेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख रहेको छ भने जगेडा कोष ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा ९१ अर्ब ८९ करोड ८६ लाख निक्षेप संकलन गरेको यस बैंकले ७८ अर्ब ७१ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी रू. ४० दशमलव ७४ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ ।

साङ्ग्रिलाको जगेडा कोष ४४ प्रतिशत बढ्यो

चालू आवको दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको जगेडा कोष ४४ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको जगेडा कोष ७३ करोड २१ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी २६ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर गरी चुक्ता पुँजी बढाएको हो ।

बैंकले दोस्रो त्रैमासमा १४ अर्ब ७० करोड ७८ लाख निक्षेप संकलन गरी १२ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको लगानी ५३ करोड ९४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकले सम्भावित जोखिमबापत २ करोड १९ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ८५ प्रतिशत कायम गरेको छ ।

श्री इन्भेष्टमेन्टको नाफा ४ गुणा बढ्यो

चालू आवको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ३ करोड ४८ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ४ गुणा बढी हो । कम्पनीले यस त्रैमासमा ५ करोड १४ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएका कारण नाफा बढेको हो । सो अवधिमा कम्पनीले १३ लाख ९४ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । कम्पनीको चुक्ता पुँजी गत आवको तुलनामा ४२ प्रतिशत बढेर ३४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ३ गुणा बढेर ३४ करोड २८ लाख पुगेको छ भने लगानीमा १९ करोड २५ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको निक्षेप ९५ प्रतिशत बढेर ३ अर्ब ५० करोड पुगेको छ भने कर्जा प्रवाह करिब १ सय प्रतिशत बढेर ३ अर्ब ५२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी रू. २० दशमलव १६ रहेको छ भने तरलता अनुपात ३५ दशमलव २४ प्रतिशत रहेको छ ।

सिर्जना फाइनान्सको नाफा ३८ प्रतिशत घट्यो

चालू आवको दोस्रो त्रैमासमा सिर्जना फाइनान्सको नाफा ३८ प्रतिशत घटेको छ । गत वर्ष कम्पनीले ५ करोड ८० लाख नाफा आर्जन गरेको छ भने ३ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । कम्पनीको सञ्चालन नाफा पनि ३८ प्रतिशत घटेपछि नाफा घटेको हो । कम्पनीको निक्षेप ५६ प्रतिशत बढेको छ । गत वर्षमा २ अर्ब ७३ करोड ७९ लाख ३६ हजार निक्षेप संकलन गरेको कम्पनीले चालू आवमा ४ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको कर्जा ३२ प्रतिशत बढेको छ । गत वर्ष कम्पनीले २ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको यस कम्पनीले चालू आवमा ३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा कम्पनीको चुक्ता पुँजी ३२ प्रतिशत बढेर ४० करोड ६ लाख पुगेको छ भने जगेडा कोष ५ प्रतिशत बढेर ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी रू. १७ दशमलव ७२ रहेको छ ।

सिभिलको नाफा ३१ प्रतिशत बढ्यो

चालू आवको दोस्रो त्रैमासमा सिभिल बैंकले २१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब ३० प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा बढेपछि नाफा बढ्न पुगेको हो । सो अवधिमा बैंकको सञ्चालन मुनाफा २ गुणा बढेर ३ करोड ५५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख रहेको छ भने जगेडा कोष रकम २२ प्रतिशत बढेर १ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले ३७ अर्ब ८० लाख निक्षेप संकलन गरी ३३ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा ७ अर्ब २० करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ४ दशमलव ५२ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी रू. ८ दशमलव ७७ रहेको छ ।

एक्सेलको नाफा साढे सात करोड

चालू आवको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २ गुणा बढेर ६९ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गरेर चुक्ता पुँजी बढाएको हो । बैंकको जगेडा कोष १८ करोड ६८ लाख रहेको छ भने ६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले ४ अर्ब ४८ करोड २९ लाख निक्षेप संकलन गरी ४ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा १ करोड ७४ लाख ७ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । यस बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ८६ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी भने वार्षिक रू. २१ दशमलव ६९ रहेको छ ।

Loading...