सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

काठमाडाैं, २१ माघ । सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए ।

कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको अक्षरा स्कुलले दाबी गरेको छ । शैक्षिक प्रर्दशनीमा सहभागी विद्यालयका सबै विद्यार्थीले विभिन्न शैक्षिक स्टल राखेका थिए ।

प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भूगोल, प्रदेश, जलविद्युत्, सडक, कम्प्युटर, मोबाइल र यससँग सम्बन्धित सफ्टवेयरलगायत ६० स्टल राखिएको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले जानकारी दिइन् ।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए । प्रदर्शनी हेर्न काँडाघारी र आसपासका विभिन्न दुई दर्जन विद्यालयका विद्यार्थीका साथै अभिभावक सहभागी थिए ।

Loading...