मुख्यमन्त्रीका लागि तीब्र दौडधुप, दावेदारहरुबीच आरोप प्रत्यारोप सुरु

काठमाडाैं, १९ माघ । प्रदेशका मुख्यमन्त्रीका लागि नेताहरुबीच हानथाप सुरु भएकाे छ । अहिले सबै दलभित्र मुख्यमन्त्रीकाे हिसाब सुरु हुन थालेकाे छ । साथै सम्भावित उम्मेदवारहरुबीच अाराेप प्रत्याराेप पनि सुरु भएकाे छ ।

मुख्यमन्त्रीकाे टुङ्गाे नलागे पनि प्रदेश सभाका बैठक भने सम्पन्न भएका छन् । यसैबीच तीन नम्बर प्रदेश सभाकाे बैठकले माघ २७ मा सभामुख चयन गर्ने घोषणा गरेकाे छ । तीन नम्बर प्रदेशकाे पहिलाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

तीन नम्बर प्रदेशमा एमाले सबैभन्दा ठुलो दल रहेको छ । यस प्रदेशमा एमालेबाटै मुख्यमन्त्री र सभामुख दुबै चुनिने बताइएकाे छ । सभामुख चयनकाे कार्यतालिका बने पनि सभामुख म हुन्छु, भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन् । भित्रभित्र शीर्ष नेताहरुकहाँ दाैडधुप गर्नेहरु भने निकै बढेका छन् ।

तीन नम्बर प्रदेशकाे मुख्यमन्त्रीमा एमालेभित्रै धेरै जनाकाे दावी छ । अहिलेसम्म एमालेभित्रै पाँचजनाले दावी गरेका छन् । उनीहरुमध्ये कसले बाजी मार्छ भन्ने अहिले भन्न सकिदैन । सबैका अाअाफ्ना दावी र हिसाब छन् । मुख्‍यमन्त्रीकाे कुरा पार्टी केन्द्रमा नमिलेपछि पार्टीभित्रै मतदानद्वारा उम्मेदवार टुङ्गाे लगाउने एमालेले बताएकाे छ ।

वाम गठबन्धनका बीच भएकाे सहमती अनुसार नेकपा एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने भएकाे छ । साथै प्रदेश ६ र प्रदेश ७ मा माअाेवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको छ । प्रदेश ४ र ५ मा माअाेवादी केन्द्रले सभामुख बनाउनेछ भने प्रदेश १ र ३ मा एमालेबाटै सभामुख बन्ने सहमति छ ।

यसैबीच प्रदेश तीनमा मुख्य मन्त्रीकाे दावी गरिरहेका नेकपा एमालेकै नेताहरुबीच अाराेप प्रत्याराेप चल्न थालेकाे छ । नेकपा एमालेबाट अहिले तीन नम्बर प्रदेशमा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच बढी प्रतिस्पर्धा चलेकाे छ । उनीहरुले एकअर्काप्रति बढी घाेचपेच पनि सुरु गरेका छन् ।

शाक्यले भनेकी छन्, ‘पाण्डेले चुनाव नलड्ने घोषणा गरिसक्नुभएको थियो, यति सक्रिय नेतालाई बाहिर राख्न हुन्न भनेर मैले नै प्रदेशमा उठाएको हो, उहाँलाई मुख्यमन्त्री दिने कुरै आउँदैन ।’

त्यसैगरी शाक्यले भनेकाे उक्त भनार्इकाे खण्डन गर्दै पाण्डेले भनेका छन्, ‘शाक्यले म मुख्यमन्त्री चलाउन सक्दिनँ, त्यसैले तपाईं चुनाव लड्नुस् भन्नुभएको हो, आज आएर बोली फेर्नुभयो।’

प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन् ।

एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।

‘एमाले स्थायी समिति बैठकले सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्न प्रदेशलाई निर्देशन दिएको छ,’ पाण्डेले बिहीबार बैठक सुरु हुनुअघि कान्तिपुरसँग भने, ‘सर्वसम्मत हुने सम्भावना कम देख्दै छु । निर्वाचनबाटै संसदीय दलको नेता चुनिन्छ ।’,

Loading...