गणतन्त्र दिवसमा कैद मिनाहा पाएर छुटेका थापा फेरि लुटपाट गर्दागर्दै पक्राउ

काठमाडौ, १८ माघ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा कैद सजाय छुट पाएका भोजबहादुर थापा मगर फेरि पक्राउ परेका छन् । डाँका मुद्दामा कैद भुक्तान गरिरहेका थापा कैद छुट पाएर छुटे लगत्तै फेरि डकैतीमा संग्लन रहेको खुलेको छ ।

गत माघ १० मा भक्तपुरको सूर्यविनायक–८ गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठाभित्र छिरेर भोजबहादुरले पेस्तोल देखाई लुटपाट गरेका थिए । परिवारका सबै सदस्यलाई हात–खुट्टा डोरीले बाँधेर ज्यान मार्ने धम्की दिँदै उनले १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल चोरेका थिए । चोरहरूले रामबहादुरको घरभित्र पार्किङ गरी राखेको बा८५प ७८५० नम्बरको मोटरसाइकल समेत चोरी गरेका थिए ।

घटनाको एक साता बित्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार भोजराजसहित चार जनालाई पक्राउ गरेको हो । घटनामा संग्लन अन्य तीन जना भने फरार छन् । महाशाखाका अनुसार पक्राउ परेकामा सिन्धुली मरिन गाउँपालिका–८ का मिलन भन्ने रत्नबहादुर तामाङ, काभ्रे धुलीखेलका विष्णु भन्ने अमृत तामाङ र सानुकान्छा ब्लोन छन् ।

महाशाखाका अनुसार टोकल भन्ने रोहितबहादुर थापा, वाइवा भन्ने दीर्घबहादुर तामाङ र विनोद तामाङ फरार रहेका छन् । प्रहरीले उनीहरूका साथबाट ६ तोला पगालेको सुनको ढिक्का, एक थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ ।

Loading...