प्रधानन्यायाधिश पराजुलीले मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै वकिले पुगे प्रशासनमा

काठमाडौं, १७ माघ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका हुन् ।

“प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४/९/२६ गते अन्दाजी ५.३० बजे तथा उहाँको सम्बन्धमा नागरिक दैनिकमा गत बिहीबार मेरो लेख प्रकाशित भएपछि सोही दिन बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको,” भण्डारीले निवेदनमा भनेका छन् ।

त्यसैगरी माघ १६ गते २ बजे केही मानिसलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् । अधिवक्ता भण्डारीले भने, “डा. गोविन्द केसीको मुद्दामा बहस गरेकै दिन बेलुका साढे ५ बजेतिर उहाँले मलाई फोन गर्नुभयो । त्यसबेला उहाँ एकदमै सन्किएर ‘तपाईँ बढ्ता हुनुभयो भने मार्दिन्छु’ भनेर भन्नुभयो । मैले यस्तो कुरा नगरौं केही छ भने दाजुभाइ बसेर कुरा गर्न सकिन्छ गरौं भनेर भनेँ । मैले मजाक नगरौं, बसेर कुरा गरौं भनेपछि उहाँले रिसाएर फोन राखिदिनुभयो । त्यसपछि कुरा भएको थिएन ।” उनले अर्कोदिन पनि त्यसैगरी धम्की दिएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले भने, “बिहीबार नागरिक दैनिकमा मेरो एउटा आर्टिकल आएको थियो । प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने विषयमा थियो । त्यो पढिसकेपछि करिब साढे ९ बजेतिर उहाँले फोन गर्नुभयो । मेरा साथीहरु पनि मसँगै त्यहाँ हुनुहुन्थ्यो । हामी ४, ५ जना बसेर कुरा गरेका थियौं । त्यसबेला ज्यान मार्छु भनेर त भन्नुभएन तर धम्कीको भाषा प्रयोग गर्नुभयो । उहाँले मलाई ‘देखाइदिन्छु, चिनेको छु, जानेको छु’ जस्ता शब्द प्रयोग गरेर धम्की दिनुभयो ।”

अधिवक्ता भण्डारीले थपे, “त्यहाँ पनि मैले केही भनिनँ । साथीहरुले के भयो भन्दा पनि मैले केही होइन भनेर भनेर बसेँ । मैले यसलाई किन इस्यु बनाउने भनेर सामान्य पार्न चाहन्थें । तर हिजो मेरो अफिसमा २, ४ जना मान्छे पठाउनुभएछ । उहाँले नै पठाउनुभएको हो भन्नेमा म ढुक्क छु । मलाई अन्य कसैले केही भनेको छैन । उहाँले नै ज्यान मार्ने धम्की दिनुभएको छ । मेरो घरमा केही मान्छेहरु आएर ‘खोई सुरेन्द्र भण्डारी ?’ भनेर थ्रेट गरेछन् । ‘हामीले देखाइदिन्छौं’ भनेर पनि धम्की दिइएछन् । ‘तपाईँहरु को हो ?’ भनेर सोध्दाखेरि ‘अहिले तपाईँलाई भन्नुपर्ने कारण छैन । सुरेन्द्र भण्डारीलाई भेटेपछि हामी को हो भन्ने चिनाइदिन्छौं’ भनेर हिँडेछन् ।”

Loading...