पर्साका छात्राहरुलाई लक्षित गरी उपचारात्मक कक्षा सुरु

विरगञ्ज, १७ माघ । अब विद्यालयमा उपचारात्मक कक्षा पनि सुरु हुने भएकाे छ । नेपाली, अग्रेजी, गणित जस्ता अनिवार्य विषयमा कमजोर रहेका विद्यार्थीहरुलार्इ लक्षित गरी यस्ताे उपचारात्मक कक्षा सञ्चालन गर्न लागिएकाे हाे ।

याे कक्षा सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी सुरु गरिने बताइएकाे छ । छात्रा शिक्षाको क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले सिकाइ उपलब्धि कम रहेका ३ सय छात्रालाई २ महिने उपचारात्मक कक्षा सञ्चालन गर्ने जनाएकाे छ ।

अासमान नेपालका कार्यक्रम संयाेजक मुनिलाल बैठाले भीएसओ नेपाल र डीएफआईडीको सहयोगमा कार्यक्रम अायाेजना गर्न लागेकाे बताए । आसमान नेपालले वीरगन्जमा आयोजना गरेको ४ दिने सिकाइ सहयोग कक्षा समेत सञ्चालन गरेको छ ।

हाल कक्षा ९ मा अध्ययनरत सिकाइ उपलब्धि कम रहेका छात्राहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । ‘फागुन र चैत गरी २ महिनामा अतिरिक्त ४८ घण्टा यस्तो कक्षा सञ्चालन गरिनेछ, प्रत्येक विषयका लागि १६/१६ घण्टा दिइनेछ,’ उनले भने, ‘९ कक्षामा कमजोर हुने छात्राले १० कक्षामा विद्यालय छाड्ने सम्भावना अत्यन्त बढी हुने भएकाले उनीहरूलाई प्रोत्साहित गर्ने प्रयास गरिएको हो ।’

जिल्लाको वीरगन्ज महानगर, पोखरिया, पर्सागढी र बहुदरमाई गरी ३ नगरपालिका र पकाहामैनपुर, बिन्दवासिनी, कालिकामाई र धोबिनी गाउँपालिका ८ स्थानीय तहमा आसमानले सन् २०१३ देखि बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा सहभागी भएका छात्राहरूमध्ये सबैभन्दा कमजोर ३ सय छात्राको छनोट गरी उनीहरू लक्षित अतिरिक्त कक्षा सञ्चालन गर्न लागिएको बैठाले बताए ।

Loading...