कक्षा ११ का डेढ लाख विद्यार्थीले माैका परीक्षा दिन नपाउने

काठमाडौँ, ११ माघ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।

बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा डी प्लस र कुनै एउटामा डी वा ई ल्याउने विद्यार्थी मौका परीक्षा दिन वञ्चित हुनेछन् । तर, चार वटा विषयमा सीभन्दा माथि र एउटामा डी प्लस हुने विद्यार्थीले भने मौका परीक्षा दिन पाउनेछन् । यो व्यवस्थाले कमजोर विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । कुनै एउटा विषयमा डी प्लस वा त्यसभन्दा तल्लो ग्रेड ल्याउनेलाई मात्रै अवसर दिँदा ५१ हजार ८ सय २ विद्यार्थीले मात्रै परीक्षा दिन पाउँछन् ।

एकभन्दा बढी विषयमा डी प्लस र एउटा विषयमा ‘डी’ वा ‘ई’ ल्याउने विद्यार्थीलाई पनि समेट्दा परीक्षा दिने विद्यार्थीको संख्या २ लाखभन्दा बढी हुने भएपछि यस्तो व्यवस्था गरिएको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए । ‘परीक्षार्थीको संख्या बढी हुने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ अर्यालले भने, ‘मौका परीक्षामा सहभागी हुन नपाएपछि जेठमा हुने वार्षिक परीक्षामा कुनै पनि विषयमा डी प्लस वा त्यो भन्दा तलको ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् ।’

उनका अनुसार जतिवटा विषयमा डी प्लस, डी वा ई आएको छ, त्यसैको मात्रै ग्रेड वृद्धि परीक्षा दिन सकिन्छ । ५ वटा विषयमध्ये एउटामा डी प्लस, एउटामा डी र अर्कोमा ई ग्रेड छ भने यी तीन विषयको मात्रै ग्रेड वृद्धि परीक्षा दिन सकिन्छ ।

गत वर्षको नतिजामा ३० अंक ल्याउने विद्यार्थीलाई पास गराइन्थ्यो । ग्रेडिङमा प्रयोगात्मक नभएको विषयमा ३० अंक ल्याउने विद्यार्थीको डी प्लस हुन्छ । गत वर्षको नतिजाअनुसार डी र ई ग्रेड ल्याउनु अनुत्तीर्णसरह हो । ‘गत वर्षसम्मको अंकको आधारमा प्रकाशन भएको नतिजालाई हेर्ने हो भने कुनै विषयमा डी प्लस (३० अंक) ल्याएको छ भने पास हो,’ बोर्डका सदस्यसचिव अर्यालले भने, ‘अहिले पनि डी प्लस ल्याउनेलाई अनिवार्य गरिएको छैन । कसैले ग्रेड वृद्धि गर्न चाहन्छ भने अवसर दिएका हौं ।’ विश्वविद्यालयले कुन ग्रेड आउने विद्यार्थीलाई भर्ना लिन्छ भन्ने यकिन नभएकाले डी प्लसलाई पनि ग्रेड वृद्धि गर्न मौका दिइएको उनले बताए ।

प्रयोगात्मक भएको विषयमा पनि सैद्धान्तिकमा डी प्लस ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन सक्ने उनले बताए । ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको अघिल्लो परीक्षाभन्दा तल्लो ग्रेड आए पहिलो परीक्षाकै ग्रेडलाई मान्यता दिइने अर्याल बताउँछन् ।

यो वर्षको नतिजामा फेल वा पास भन्ने छुट्याइएको छैन । कुन विषयमा कुन ग्रेड भन्ने मात्र विभाजन गरिएको छ । कुनै विषयमा ९० देखि १०० सम्म प्रतिशत ल्याउनेको ए प्लस, ८० देखि ८९ प्रतिशत ल्याउनेको ए, ७० देखि ७९ प्रतिशत ल्याउनेको बी प्लस, ६० देखि ६९ को बी, ५० देखि ५९ को सी प्लस, ४० देखि ४९ प्रतिशत ल्याउनेको सी, ३० देखि ३९ अंक ल्याउनेको डी प्लस ग्रेड दिइएको छ । २० देखि २९ प्रतिशत ल्याउनेको डी र ० देखि १९ सम्म ल्याउनेको ई ग्रेड दिइएको छ । जस्तै– ८० नम्बरको सैद्धान्तिक परीक्षा लिने विषयमा डी प्लस भन्नाले न्यूनतम २४ नम्बर ल्याउनैपर्ने हुन्छ । सय पूर्णांकको सैद्धान्तिक भएको विषयमा डी प्लस आउन ३० नम्बर मात्रै ल्याए पुग्छ ।

बोर्डले लिने एसईई १० कक्षाको परीक्षामा कुनै विषयमा सी ल्याउने विद्यार्थीलाई पनि ग्रेड वृद्धिको मौका परीक्षा दिन सकिने व्यवस्था गरेको छ । कक्षा ११ को भने कुनै विषयमा डी प्लससम्मलाई मात्रै ग्रेड वृद्धिको अवसर दिएको छ । एउटै बोर्डले कक्षाअनुसार फरक नीति लिएको छ ।

Loading...