अब ६५ वर्षमै बृद्ध भत्ता दिइने

काठमाडाैं, ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ।

अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ। ६५ वर्ष सम्मकालाई भत्ता दिने निर्णय गर्दा यो रकममा उल्लेख्य वृद्धि हुने अर्थका अधिकारी बताउँछन्। यसअघि ७० वर्ष पुगेका वृद्धवृद्धा, एकल महिला, अपांगलगायतले मासिक २ हजार र दसैं खर्चसमेत वार्षिक २६ हजार रुपैयाँ बुझ्दै आएका थिए। सामाजिक सुरक्षा भत्ताको व्यवस्था तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले ०५१ सालमा गरेको हो।

सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाएर ६५ वर्षमा झार्ने निर्णय गरिएको जानकारी दिए।यसैगरी, सरकारले बाढीपीडित तथा भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। हाल भूकम्पपीडितले अनुदानबापत ३ लाख रुपैयाँ पाउँदै आएका थिए। सरकारको निर्णयसँगै भूकम्पपीडितले अब अनुदानस्वरूप ४ लाख रुपैयाँ पाउने भएका छन्।

Loading...