संसदका भार कता फरार ?

सांसदमा निर्वाचित ३ जनप्रतिनिधिलाई नेपाल प्रहरीले अपराधी करार गर्दै ‘वान्टेड’को सूचीमा राखेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीले ‘वान्टेड’को सूचीमा राखेको हो ।

आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी अदालत गएको आरोप पूर्वडीआईजी नवराज सिलवालमाथि लागेको छ । डीआईजीबाट राजीनामा दिएका सिलवाललाई नेकपा एमालेले उम्मेदवार बनाएपछि ललितपुर-१ बाट उनी विजयी बनेका छन । तर कीर्ते मुद्दामा प्रहरीले समात्ने प्रयास गरेपछि उनी फरार छन ।

अर्का प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि फरार छन । उनी पनि प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । थरुहट आन्दोलनको बेला एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश गरेको छ । चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि भएपनि निर्वाचन आयोगबाट अहिलेसम्म प्रमाणपत्र लिन आएका छैनन् ।

त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी करार गरेका दीपक मनाङे पनि प्रहरीको वान्टेड सूचीमा छन् । प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ बाट निर्वाचित मनाङे पक्राउ पर्ने डर भएपछि आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत आएनन ।

नेपाल प्रहरीले यी ३ जनप्रतिनिधिलाई वान्टेडको सूचीमा राखेर खोजतलास गरिरहेको छ । तीनै जना परिचित अनुहार भएकोले फोटो सहितको वान्टेड सूचना भने नगरिएको प्रहरी प्रबक्ताले जानकारी गराएका छन ।

Loading...