गतिरोध हट्नका लागि एमालेकै कमजोरी रहेको नेता नेम्वाङको दावी

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन ।

संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्वाङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएको बताए।

”पार्टी एकताको बिकल्प नभएकोले चाँडै नै दुई पार्टी एक हुन्छ । ” उनले भने

संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने, “संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रै कमजोरी हो ।”

संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।
उनले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताए ।

नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्ध बनाउने बताए ।

कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हकहितका लागि ध्यान दिनुपर्ने विचार व्यक्त गरेकी थिइन् ।

Loading...