चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या १९ पुग्यो, सरकार सुन्दै सुन्दैन नागरिकका पीडा

सप्तरी । चिसो र शीतलहरका कारण कठ्यांग्रिएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १९ पुगेको छ। स्थानीयवासी घाम लागेर माघे संक्रान्ति राम्ररी मनाउन पाउने आसमा बसेका थिए। तर, स्थानीयलाई निराश पार्दै चिसो हावा, शीतलहर र तुसारो पर्ने क्रम थप बढ्दा जनजीवन झनै कष्टकर बन्न पुगेको छ। आइतबार दिउँसो केही बेर मधुरो घाम लागे पनि सोमबार दिनभरि घाम लागेन। चिसो हावा चल्ने क्रम नरोकिएपछि शीतलहरको प्रभाव पनि कायमै रह्यो।

सप्तरी जिल्ला प्रहरीले कठ्यांग्रिएर थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। सप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो पटक तिरहुत-४ की ६० वर्षीया जलेश्वरीदेवी साह, सुरुंगा नगरपालिका-१० का बुदिलाल मुखिया र कञ्चनरुप नगरपालिका-३ का ६० वर्षीया कलियादेवी सदाको मृत्यु भएको हो।

प्रहरीका अनुसार रुपनी गाउँपालिका-१ का २ वर्षीय शिवम पासवान, डाकनेश्वरी नगरपालिका-८ का ७० वर्षीया शुभावतीदेवी सरदार, हनुमाननगर कंकालिनी-१ स्थित कोशी ब्यारेजमा इनरुवा-१ का ४० वर्षीय ढुण्डीराज पोखरेलको चिसोले गर्दा मृत्यु भएको छ। तिलाठी कोइलाडी-४ की ७० वर्षीया श्यामादेवी सिंह, हनुमाननगर कंकालिनी-१ भलुवाकी ६५ वर्षीया शान्तिदेवी यादव, सुरुंगा नगरपालिका-१ चहकाका ५१ वर्षीय अम्बरबहादुर पुलामी, छिन्नमस्ता गाउँपालिका-२ रम्पुराकी ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साहको पनि कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि सुरंगा भजकाका ६५ वर्षीया दुर्गीदेवी चौधरी, सप्तकोसी-१ का ६२ वर्षीय अर्जुन पोखरेल, तिरहुत गाउँपालिका-१ का ६० वर्षीया भुटनीदेवी यादव, कञ्चनरुप-२ का ५५ वर्षीय बेचन शेख, खडग नगरपालिका-७ का ६४ वर्षीय प्रेमबहादुर माझी, अग्निसाइर कृष्ण सवरन गाउँपालिका-४ का ६५ वर्षीय लखन ठाकुर, तिलाठी कोइलाडी-४ चनी टोलका ७१ वर्षीय नारायण मुखिया र खडग मुसहरनियाका ७० वर्षीय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको थियो।

प्रहरीले चिसोबाट जोगिन एक सयभन्दा बढी ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइदिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले १३ हजारभन्दा बढी कम्बल वितरण गरेको छ। विभिन्न संघसंस्था तथा व्यक्तिले पनि राहत वितरणलाई निरन्तरता दिएका छन्।

Loading...