कैलाश सिरोहियाले जेल जाने अवस्था आएपछि आफूले गुण लगाएको तर अहिले ब्लाकमेलिङ गरेको सुमार्गीको आरोप

काठमाडौं, २ माघ । मुक्ति श्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आफूसँग ‘बार्गेनिङ’ गरेर अनर्गल प्रचार गरेको आरोप लगाएका छन्। सुमार्गीले मुक्ति श्री टावरमा सोमबार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन्।सुमार्गीले २०७० सालमा सिरोहियाबाट आफूले तत्कालीन समयको मूल्यअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी जग्गा खरिद गरेको जानकारी दिए। सिरोहियाले अहिले सोही जग्गा पुरानै मूल्यमा फिर्ता लिन विभिन्न प्रकारले आफूमाथि दबाब दिँदै आएको उनले दाबी गरेका छन्।

‘अहिले सिरोहिया मैले खरिद गरेकै मूल्यमा जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन्,’ सुमार्गीको वक्तव्यमा उल्लेख छ, ‘उक्त जग्गा फिर्ता गर्न मैले नमान्दा सिरोहियाले कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर दैनिक, कान्तिपुर रेडियो, नेपाल साप्ताहिक, कान्तिपुर टेलिभिजन, द काठमान्डु पोस्ट र एसिया न्युज नेटवर्कलाई हतियार बनाएर मेरो बदनाम हुने गरी नियोजित र निराधार समाचार सम्प्रेषण गराउँदै आएका छन्।’

२०७० पुस ८ गते कान्तिपुरमा ‘मुक्ति श्रीले साढे २३ अर्ब लगानी थप्ने’ शीर्षकमा समाचार प्रकाशित भएको तर अहिले उक्त जग्गा प्राप्त गर्न नसक्दा ‘ब्ल्याकमेलिङ’ गर्न सिरोहियाले आफ्ना विभिन्न सञ्चारमाध्यमलाई हतियार बनाई पाठकलाई गुमराहमा पार्नेखालको नियोजित समाचार सम्प्रेषण गर्न थालेको सुमार्गीले आरोप लगाए।

‘उक्त जग्गाको खरिद-बिक्री राजीखुसीमै भएको थियो। तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनयविनय स्वीकारेको मात्र हुँ। त्यतिखेर परिस्थिति नै अप्ठ्यारो थियो। मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो,’ विज्ञप्तिमा सुमार्गीले भनेका छन्, ‘त्यस्तो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ। अहिले सञ्चारमाध्यमजस्तो साधनलाई बदनामीको हतियार बनाउँदै अवैध धन, कालो धन्दा, कालो धनजस्ता विषयमा समाचार प्रकाशित गरेर निन्दनीय काम गर्नुभएको छ।’

उनले सिरोहियाबाट कान्तिपुरलाई प्रयोग गर्दै भइरहेको ‘ब्ल्याकमेलिङ’ नेपाली पत्रकारिताको क्षेत्रमा ५० वर्षसम्म ‘कालो धब्बाको रूपमा रहिरहने’ दावीसमेत गरेका छन्। उनले आफूबाट कुनै पनि गलत र अवैध व्यवसाय नभएको जिकिर गर्दै थपे, ‘गलत गरेको छु भने राज्यको जस्तोसुकै कारबाही भोग्न तयार छु।’

सुमार्गीले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियाले सबैभन्दा पहिले नेपाल साप्ताहिकमा भित्याइएको ऋण लगानी ‘जफत’ हुने भन्दै समाचार प्रकाशित गरेको दाबी गर्दै उक्त समाचार निराधार र आपूmलाई बदनाम गराउने एक मात्र उद्देश्यले निर्देशित रहेको बताए।

‘उक्त घटनापछि सिरोहिया सुध्रिन्छन् भन्ने लागेको थियो, नेपाल साप्ताहिकमा समाचार आएको अर्को दिन नै सिरोहियाले कान्तिपुर टेलिभिजनमा आउने ‘फायर साइड’ चलाउने मित्रलाई मकहाँ पठाएर गल्ती भयो भनेर माफी मागेका थिए,’ पत्रकार सम्मेलनमा सुमार्गीले दाबी गर्दै भने, ‘त्यसपछि पनि मैले उनको बार्गेनिङलाई मानिनँ। होटेल सोल्टीमा एनआरएनको असोज २५ गते सम्मेलन थियो, त्यो कार्यक्रममा सिरोहियाले मेरो हात समातेर अर्को हलमा तानेर लगे, जबर्जस्ती गरे, हाइज्याक गरेको तिमीलाई दुई करोडमा भने। मसँग दुई करोड मागे, मैले बुझ्दै बुझिनँ। भोलि कान्तिपुरले मेरोविरुद्धमा समाचार प्रकाशन गर्दै छ भनेर सिरोहियाले बेस्सरी रक्सी मगाए र खाए, त्यसको बिल पनि मैले नै तिरें। त्यो बेलाको साक्षी आइजीपी बनिनसकेका नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्याल पनि छन्।’

होटेल सोल्टीको घटनालगत्तै कान्तिपुरले आफ्नो सामाजिक, व्यावसायिक, आर्थिक रूपमा नोक्सानी हुने गरी निरन्तर रूपमा समाचार प्रकाशित गरेको सुमार्गीले आरोप लगाए।

सुमार्गीले सिरोहियाको धारणा निकै निकृष्ट रहेको बताएका छन्। उनले भने, ‘डेरामा बस्नेले प्रगति गर्नैहुन्न भन्छन् सिरोहिया। के डेरामा बस्ने सरकारी कर्मचारी, चिकित्सक, इन्जिनियर, विद्यार्थी सबै अपराधी नै हुन् ? डेरामा बस्नै नहुने, डेरामा बस्नेले परि श्रम गरेर प्रगति गर्न नपाउने ? ’ कान्तिपुरले सुमार्गीले अवैध रुपमा वैदेशिक लगानी भित्याएको आरोप लगाउँदै पछिल्लो समय समाचार प्रकाशित गर्दै आएको छ। सुमार्गीले भित्याएको लगानी वैध वा अवैधभन्नेबारे अहिलेसम्म राज्यले पुष्टि गरेको छैन।

सुमार्गीले आपूmले वैदेशिक लगानी भित्याएर स्वदेशमा ठूलो परिमाणमा रोजगारी सिर्जना गरेको दाबी गर्दै उक्त लगानी कुनै पनि प्रकारको आतंककारी क्रियाकलापमा प्रयोग नभएको बताए। उनले भनेका छन्, ‘सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो ? वा नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ? ’

सुमार्गीले नेपालमा खासै चर्चा नआएको आर्थिक पदावलीको रूपमा ‘गोल्डेन सेयर’ भएको बताए। उनले भने, ‘यो त्यस्तो सुनौलो सेयर हो, जुनकुनै पनि व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्छ। सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे। सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठान अहिले तैं चुप, मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ।’

 

Loading...