सर्वसाधारणको २ करोड ठग्ने म्यानपावर सञ्चालक यसरी भए विना धरौटीमै रिहा

काठमाडौ, १ पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको हो ।

सञ्चालक घिमिरेले आफ्नै कर्मचारीविरुद्ध भने विभागमा अर्को उजुरी दर्ता गराएका छन् । उक्त उजुरीमा घिमिरेले म्यानपावरमा भएको ठगी आफ्नो अनुपस्थितिमा म्यानपावर सञ्चालनका लागि नियुक्त गरिएका खैरहनी चितवन स्थायी घर भएका सञ्जय उप्रेतीको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरेका छन् । फरार रहेका उप्रेतीको नाममा विभागले बिहीबार पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

वैदेशिक रोजगार ऐनमा म्यानपावरबाट हुने ठगीमा सञ्चालकलाई हुने सजाय स्पष्ट उल्लेख छ । ऐनविपरीत कार्य गर्ने म्यानपावरका पदाधिकारी वा कर्मचारी पहिचान हुन नसके म्यानपावर प्रमुखका रूपमा काम गर्ने व्यक्तिलाई नै कसुरअनुसारको कारबाही हुने व्यवस्था छ ।

जसअनुसार ठगीमा आरोपित उप्रेती फरार रहेको अवस्थामा म्यानपावर सञ्चालक घिमिरेमाथि नै अनुसन्धान प्रक्रिया अगाडि बढ्नुपर्ने थियो । विभागले अनुसन्धान अधिकृतमार्फत अभियुक्तलाई ठगीको कसुरमा गिरफ्तार गरी अनुसन्धान गर्न र पर्याप्त आधार देखिएमा तारेखमा राख्नेदेखि जमानत तथा धरौटीमा छाड्न वा धरौटी बुझाउन नसकेमा ३० दिनसम्म थुनामा राख्न सक्छ ।

तर, विभागले अर्को अभियुक्त खडा गरेर घिमिरे छाडेको छ । ब्लुस्टारको मुद्दामा अनुसन्धान अधिकृत तोकिएका विभागकै कर्मचारी गोविन्दप्रसाद उपाध्यायको मोबाइल शनिबार स्विच अफ रहेकाले सम्पर्क स्थापित हुन सकेन ।

गत साता महानगरीय अपराध महाशाखाको टोलीले म्यानपावरमा छापा मारी नक्कली भिसा र पूर्वश्रम स्वीकृति नलिईकन संकलन गरिएका ३ सय ७१ थान पासपोर्ट बरामद गरेर विभागमा बुझाएको थियो ।

हालसम्म करिब ६० जना पीडित मात्रै सम्पर्कमा आएको विभागले जनाएको छ । बरामद पासपोर्ट सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्न सुरु गरिसकेको विभागले हालसम्म २० वटा पासपोर्ट वितरण गरिसकेको छ ।

म्यानपावर सञ्चालक घिमिरे स्वयंले विभागमा दर्ता गराएको उजुरीमा आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारमा पठाइदिने नाममा नक्कली भिसा देखाइएको पुष्टि गरेका छन् । उनले विदेश जान भनेर आफ्नो कम्पनीमा आउने व्यक्तिहरूबाट म्यानपावरकै कर्मचारी सञ्जय उप्रेतीले पासपोर्ट र रकम लिई नक्कली भिसा दिएर ठगी भएको स्विकारेका हुन् । ठगी कार्यमा संलग्न उप्रेतीलाई पक्राउ गरी ठगीमा परेकाहरूको रकम र पासपोर्ट फिर्ता गराइदिन उनले विभागसँग आग्रहसमेत गरेका छन् ।

म्यानपावरले वैदेशिक रोजगारीमा पठाइदिने नाममा जम्मा गरेका ३ सय ७१ थान पासपोर्टका लागि पूर्वस्वीकृति नै नलिएको पाइएको छ । ब्लुस्टार म्यानपावरले कामदार वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सुरु गर्नुपूर्व अनिवार्य रूपमा लिनुपर्ने पूर्वश्रम स्वीकृति नै नलिएको विभागकी निर्देशक तथा अनुगमन तथा राहत उद्धार शाखाकी प्रमुख रमा भट्टराईले जानकारी दिइन् ।

म्यानपावरवालाले वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया सुरु गर्नुअघि रोजगारदाताको नाम, पठाउने मुलुक, रोजगारको किसिम, कामदारको संख्या, कामदारले पाउने तलब, सेवा, सुविधालगायतका विवरणसहित पूर्वश्रम स्वीकृतिका लागि विभागमा निवेदन पेस गर्नुपर्ने हुन्छ ।

म्यानपावरले पूर्वश्रम स्वीकृति नै नलिएको पाइएकाले व्यक्तिगत ठगीका रूपमा मुद्दा अगाडि बढाइने निर्देशक भट्टराईले बताइन् । ‘नक्कली भिसाको विषयमा चाहिँ कागजात किर्ते गरेको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीमा पठाइनेछ,’ उनले भनिन्, ‘म्यानपावर सञ्चालक र कर्मचारीमाथि पूर्वश्रम स्वीकृति नलिएको, विदेश पठाइदिने नाममा ठगी गरेको, अनुमतिपत्र नलिई वैदेशिक रोजगारीमा पठाउन खोजेको र कागजात किर्ते गरेको मुद्दामा अनुसन्धान अगाडि बढाइनेछ ।’

कसैलाई वैदेशिक रोजगार ऐनमा रोजगारमा लगाइदिन्छु भनी झुटो प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाइदिने नाममा कुनै रकम लिएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यस्तै, विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा तथा कुनै म्यानपावरले वैदेशिक रोजगारमा लगाइदिने झुटो प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम जरिवाना हुनुका साथै त्यस्तो म्यानपावर सञ्चालकलाई ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद हुन्छ । त्यसका साथै त्यस्तो म्यानपावर कम्पनीको अनुमतिपत्रसमेत रद्द हुन्छ ।

Loading...