रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ९ को मृत्यु

जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकाेटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको , ८ वर्षिय धनवहादुर विक र ४ बालबालिका समेत रहेका छन्।

ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। उनले स्वाथ्यचौकीमा दैनिक ४०/५० जना भाइरलका बिरामी आउने गरेको बताए।

प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्छ। इन्चार्ज सिंहले भने ‘मौसम परिवर्तनसँगै चिसो बढेपछि गाँउमा बिरामीको संख्या बढ्दै गएको छ। तर बिरामी स्वास्थ्य संस्था आउँदैनन् झारफुक तिरै लाग्छन्।’

जुनीचाँदे गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको उनले बताए।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा ३/४ जनासम्म बिरामी परेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

मजकोटका प्रायः घरका मानिस बिरामीले थलिएका छन्। बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन्। बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने,चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ।

भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागि महामारी स्रोत व्यक्ति ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौं’ जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौं। यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकोले पहिचानका लागि समयमै तदारुकता देखाएका हौं।’

त्यस्तै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पठाएको कार्यालय प्रमुख नेपालीले बताए। भाइरलको रुपमा देखापरेको रुघाखोकीलाई प्रकोपकै रुपमा फैलन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले बताए।

ज्वरो र रुघाखोकीले धेरै जसो विद्यार्थी बिरामी परेपछि जुनीचाँदे २ मजकोटस्थित भगवती आधारभूत विद्यालय केही दिनका लागि बन्द गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले बताए।

Loading...