जाडोमा आफ्नै मिलमा आगो तापिरहेका युवा व्यवसायीको दिउसै गोली हानी हत्या

बुटवल, २१ पुस । बुटवलमा आज फेरि एक युवा व्यवसायीको दिउसै गोली हानी हत्या गरिएको छ । रूपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एमाले कार्यकर्ता वसन्त पौडेलको गोली हानी हत्या गरिएको हो ।

अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठ (स–मिल) मिलमा आगो तापेर बसिरहेका बेला कालो रङको डिस्कभर मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो । गोली प्रहार गर्ने समूह सोही मोटरसाइकलमा रोहिणीखोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै गोली प्रहारबाट स्थानीयवासी युवा पौडेल बलुको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीले बन्द गरेका हुन् । मृतक पौडेल पूर्व गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।

एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त दुर्गाका नजिकका साथी थिए ।

घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफ्नो योजनामा गरेको बताएका छन् । उनले आफू मलेसियामा रहेको र आफ्नै योजनामा बुलुको हत्या भएको स्थानीय सञ्चारकर्मीलाई जनाएका छन् ।

एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब वसन्तको पालो भन्दै धम्की दिएका थिए ।

गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति कालो डिस्कभर मोटरसाइकलमा रोहिणी खोलातिर भागेको स्थानीयवासीले बताएका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

Loading...