सुदिक्षा आचार्य बनिन मिसेज ब्यूटी क्विन, मलेसिया घुम्न पाउने

काठमाडौँ, २१ पुस । महिलाहरूको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मी इन मिसेज ब्यूटी क्विन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो भएकी छन् ।

सिजन मिडियाले बिहीबार यहाँ आयोजना गरेको लेट मी इन मिसेज ब्यूटी क्विन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उनले टिभिएस स्कुटर, एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनका लागि मलेशिया भ्रमणको अवसर पाउनेछन् ।

त्यसैगरी, दोस्रो हुनुभएका जनकपुरकी दीपिपका राईले एक लाख बराबरको उपहार, चार दिनको मलेशिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गर्नुभएको छ भने तेस्रो हुने विष्णुमाया पौडेलले पनि चार दिनको मलेशिया भ्रमण, २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरेकी छन् ।

दश वर्षदेखि निरन्तर रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ देखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरिबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाको क्षमता विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत रहेका थिए ।

Loading...