नेपालगञ्ज प्रादेशिक महोत्सवको आम्दानी लक्ष्य डेढ अर्ब

नेपालगञ्ज । डेढ अर्ब आम्दानी गर्ने लक्ष्यका साथ नेपालगन्ज उद्योग वाणिज्य संघले यहाँ पहिलो पटक ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको छ ।संघको स्थापनाको ५०औं वर्ष पुगेको अवसर पारेर आगामी माघ ११ गतेदेखि २२ गतेसम्म संघले यहाँ ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको हो ।

देश संघीय संरचनामा गएपछि पहिलो पटक प्रादेशिक स्तरीय महोत्सव आयोजना गर्न लागेको जनाउँदै यसले नेपालगन्जलाई औद्योगिक सहरका रूपमा स्थापित गराउन ठूलो मद्दत पुग्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
प्रदेश नम्बर ५ का ४ लाख सर्वसाधारणलाई महोत्सवमा ल्याउने योजना बनाएर सोही अनुरूपमा तयारी भैरहेको जनाउँदै उनले महोत्सवले यस प्रदेशको कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापारको प्रवद्र्धन र रोजगारीलाई बढाउने संघका अध्यक्ष वैश्यले बताए ।

डेढ अर्ब आम्दानी गर्ने लक्ष्य र उद्देश्यका साथ गर्न लागिएको सो महोत्सव सञ्चालनका लागि संघका अध्यक्षको नेतृत्वमा ७ सय ५१ सदस्यीय मूल आयोजक समिति र २२ वटा उपसमिति निर्माण गरिएको छ । महोत्सवबाट हुने डेढ अर्बको आम्दानीबाट ७५ लाख महोत्सवमा खर्च गरी ७५ लाख बहुउद्देशीय सभाहल निर्माणमा लगाइनेसमेत अध्यक्ष वैश्यले बताए ।

बाँकेको अर्थतन्त्रलार्ई आत्मनिर्भर बनाउन विशेष जागरण ल्याउनका लागि महोत्सव उपयोगी रहने तथा यसबाट प्रदेश नम्बर ५ मा लगानी ओइरिने दाबी संघले गरेको छ । नेपालगन्जको कारकाँदोमा रहेको सडक डिभिजन परिसरमा बहुउद्देशीय सभागृह तथा प्रर्दशनी स्थल निर्माणका लागि संघले यसअघि पनि महोत्सव आयोजना गर्दै आएको छ ।

यस क्षेत्रकै ठूलो प्रदर्शनीस्थल निर्माण गर्ने महत्वकांक्षी योजना संघले अघि सारे पनि सो योजना अझै सुरु हुन सकेको छैन ।

पहिलो पटक संघले महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानसमेत चलाएको जनाउँदै यस पटक भारत, चीन, पाकस्तिानलगायत देशका विभिन्न उत्पादनका १८ वटा स्टल राख्ने विषयमा छलफलसमेत चलिरहेको संघका अध्यक्ष वैश्यले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा नै नेपालगन्ज र बाँके जिल्लालाई चिनाउनका लागि पनि अन्य देशका उत्पादन राख्ने गरी स्टलको व्यवस्था गरिएको संघले जनाएको छ ।

Loading...