एमालेसँग एकता छिटो गर्ने भन्दै माओवादी केन्द्रले बनायो कार्यदल, अन्तर्घातकाे छानविन गर्न पनि समिति

काठमाडाैं, १८ पुस । नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

वाम गठबन्धनको एजेन्डा र पार्टी एकतालाई आम जनताले अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियालाई गति दिने निर्णय भएको सो पार्टीले जनाएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा आज दिउँसो बसेको केन्द्रीय कार्यालय बैठकपछि प्रवक्ता पम्फा भुषालले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आएको समस्याका कारण छलफल केही लम्बिएको बताइन ।

पार्टी एकता र सरकार गठनमा कुनै समस्या नरहेको स्पष्ट पार्दै नतृ भुषालले पार्टी एकिकरणमा आश्चर्यजनक नजिता आउने उल्लेख गरिन । सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकताको तयारी भइरहेको छ ।

यस्तै माओवादी केन्द्रले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । प्रवक्ता भूसालका अनुसार बैठकमा अध्यक्ष दाहालले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे जानकारी गराएका थिए ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता, कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्री कुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर सदस्य छन ।

त्यस्तै, बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न नेता अमिक शेरचनको संयोजकत्वमा समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

Loading...