चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा

कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ ।

जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ ।

इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर चेतरदिया, धनकौली लगायत स्थानमा एक चट्टा बढी दाउरा वितरण गरिसकिएको नगरपालिकाका प्रशासकीय अधिकृत मेहनाथ पाध्याले जानकारी दिए । दाउरा प्रायः कम पाइने ठाउँमा दाउरा वितरण गरिएको छ ।

दाउरा पाएसँगै सर्वसाधारणले राहत महसुस गरेका छन् । यसबीच केही दिनअघि विजयनगर गाउँपालिकाले पनि सात वडाका असहाय, वृद्धवृद्धा, अपाङ्गतायुक्त २१० घरपरिवारलाई कम्बल वितरण गरेको थियो । केही दिनदेखि शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र मजदूरलाई बढी असर पु¥याएको छ ।

Loading...