पहिलो पटक राजधानी छाडेर पोखरामा अन्तराष्ट्रिय चलचित्र महोत्सव

पाेखरा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पोखरामा हुने भएको छ । राजधानी केन्द्रित भइरहेका फिल्म महोत्सवकाे परम्परालार्इ ताेड्दै यसपाली पहिलाेपटक पाेखरामा याे महाेत्सव गर्न लागेकाे अायाेजकले जनाएकाे छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ लामा–छोटा फिल्म देखाइनेछन् ।

‘फिल्म हेर्ने मात्र नभई त्यसबारेमा बहस पनि हुनुपर्छ भन्ने महोत्सवको उद्देश्य हो’, निफका निर्देशक मनोज पण्डितले भने, ‘हामीकहाँ फिल्महरू कि त विदेशी महोत्सवमा सहभागिताका लागि बन्छन्, कि बजारका लागि । मुख्यत: निफ यही दुई चरित्रमाथि विज्ञहरूका अवधारणासहितको बौद्धिक छलफलमा केन्द्रित हुनेछ ।’

पण्डितले निफका लागि दुई वर्षयता बनेका फिल्मआह्वानबाट प्राप्त चार सय फिल्ममध्ये छनोट भएका ३० भन्दा बढी देशका फिल्म प्रतिस्पर्धामा रहेको बताए । निफमा उत्कृष्ट फिल्म, सर्ट फिल्म, विशेष महत्त्वको जुरी सम्मान र नेपाली पानोरमाबाट एक उत्कृष्ट गरी चारा पुरस्कार प्रदान गरिनेछन् ।

‘कथ्यहरूको उत्सव’ नारा आत्मसात् गरेको निफले उत्कृष्ट फिल्म बनाउने प्रक्रियासँगै दर्शकको फिल्म हेर्ने दृष्टिकोणमा समेत सुधार ल्याउने आवश्यकता महसुस गरेको यसका अध्यक्ष केपी पाठकले बताए । भने, ‘नेपाली भूराजनीतिलाई मनन गर्दै यसपालि भारतीय र चिनियाँ फिल्मको न्यारेटिभ चरित्रमाथि बहस गराउँदै नेपाली फिल्मको न्यारेटिभ खोजी गर्नेछौं ।’

फिक्सन फिल्म मात्रै सहभागी रहने बताइएको निफका लागि नेपालका मीनबहादुर भामसहित भारतका अशोक राने, कतारका खलिल बेनिक्राने, श्रीलंकाका भिमुक्ति जयासुन्दरा, जापानका सोजो इचियामा र चीनका पेंग जियालियान सम्मिलित ६ जनाको निर्णायक मण्डल रहनेछ ।

Loading...