विद्या भण्डारीलार्इ नै राष्ट्रपति बनाउने केपी ओलीको यस्तो गोप्य योजना

काठमाडौँ, १८ पुस । भावी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा केपी ओली रहेको रहस्य खुलासा भएको छ ।

पुरानैलाई निरन्तरता दिएर जनतामा परिवर्तनको महसुस नगराउने चलखेलमा ओली लागिपरेका माओवादी नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले खुलासा गरेका हुन् ।

‘केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ, झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ,’ माओवादी नेता पौडेलले भने, ‘पुरानैको निरन्तरता हुँदा मुलुकले परिवर्तनको महसुस गर्दैन, त्यसैले त्यो नहोला ।’

केपी ओली र प्रचण्डवीच प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने बारेमै कुरो मिल्न बाँकी रहेको पौडेलले बताए । त्यसपछि सभामुख एमालेले लिने हो भने राष्ट्रपति माओवादीले पाउनुपर्ने उनले दाबी गरे ।

नेता पौडेलले दोस्रो पुस्ताका नेताहरुका निम्ति पार्टी एकता ठूलो चुनौती रहेको समेत बताएका छन् । ‘पार्टीमा नेताहरु नै जन्मे जस्तो अनुभूति छैन । प्रचण्ड-केपी, केपी-प्रचण्ड जस्तो मात्रै भइराखेको छ । वीचमा धेरै ग्याप छ ।’ उनले भने- ‘ माओवादीमा प्रचण्ड उभिएर बोलिसकेपछि पार्टीभित्रका अन्तरविरोधहरु मिल्ने, अरुले चाहिँ सम्भव छैन । करिब-करिब अहिले एमालेभित्र पनि यस्तै छ । पहिले त तीनैजना नेताहरु स्थापित थिए, अहिले खड्ग ओली पावरफूल भएर आउनुभयो, अरुको चाहिँ नचलेजस्तो भयो ।’

तर, एमालेमा हाम्रै जमानाका साथीहरु लिडर भएर आएको उनको बुझाई छ, ‘माओवादीमा भने त्यो हुन सकेको छैन ।’ उनले भने, -एमाले र माओवादी दुबै पार्टीमा चरम गुटबन्दी छ । माओवादीमा गुटबन्दी हो कि के हो, के हो, गज्याङ-मज्याङ छ । हामी नै सन्तुष्ट नहुने स्थिति छ । एमालेमा पनि निर्वाचित सिस्टम त छ, तर पार्टीचाहिँ व्यवस्थित छैन । अरुभन्दा त राम्रो हो, तर पार्टी, पार्टीका रुपमा छैन ।’

उनले पार्टी एकतासम्बन्धी लिडरसिपको प्रश्न धेरै नै सम्वेदनशील रहेको बताए । ‘सम्मानजनक एकता हुने हो भने सरकार र पार्टीको नेतृत्व दुबै पार्टीका प्रमुखहरुले एक-एकवटा गर्नुपर्छ ।’ उनले थपे- ‘किनभने, यी अलग-अलग धार हुन्, तौलमा को घटीबढी छन् भन्ने कुरा सहायक हो । एमाले अलग धार हो, माओवादी पनि अलग्गै धार हो ।’

जतिसुकै गाली गरे पनि प्रचण्डको लिडरसिपको एउटा महत्वपूर्ण भूमिका रहेको उनको तर्क छ । ‘त्यसैले प्रचण्डलाई मनोवैज्ञानिकरुपमा अपमान गरेर तपाई सहअध्यक्ष बस्नोस्, ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ भन्दा नैतिकरुपमा मिल्दैन ।’ उनले भने – ‘बरु प्रधानमन्त्री लिने कि पार्टी अध्यक्ष लिने एमालेले रोजेर लेओस्, त्यसपछि छाडेको चाहिँ माओवादीले लिन्छ । प्रचण्डले लिनुहुन्छ । यसो गर्दा नै सम्मानजनक हुन्छ ।’

विद्या भण्डारीको पनि फेरि राष्ट्रपति हुने चाहना तिब्र भएको उनले बताए । ‘केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ । झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ ।’ उनले भने- ‘संगनात्मक घनत्वले कति धान्छ, त्यो उहाँको कुरा हो । राष्ट्रपतिमा पुरानै निरन्तरता होस् भन्ने ओलीजीको चाहना छ, तर, अब त्योचाहिँ नहोला । पुरानैको निरन्तरता हुँदा मुलुकले परिवर्तनको महसुस गर्दैन ।’

बाहिर चर्चा भएजसरी आफुहरुले माओवादी नेता बादललाई राष्ट्रपतिका रुपमा ठोस रुपमा प्रस्ताव नगरेको उनको भनाई छ।

Loading...