नेताका छाेरी र श्रीमतीहरुलार्इ मात्र समानुपातिकमा छानेपछि माओवादी केन्द्रमा यतिसम्म भाँडभैलो

काठमाडौं, १५ पुस । समानुपातिक सांसद छनाैटकाे विषयलार्इ लिएर माअाेवादी केन्द्रमा ठूलाे भाँडभैलाे भएकाे छ । सामाजिक सञ्जालमा विराेध गर्नेदेखि पार्टी कार्यालयमा गएर कुटाकुटसम्म गर्नेहरु बढेका छन् । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेसँगै युवा नेता तथा नेतृहरुले ब्यापक बिरोध सुरु गरेका हुन् ।

शुक्रबार पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेको थियो । प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत रहेको भन्दै माओवादीका युवाहरुले सामाजिक सञ्जालमा चरम असन्तुष्टि पोखेका छन् ।

माओवादी केन्द्रका युवाहरुले नेतृत्व नातावाद र कृपावादमा फसेको भन्दै ‘स्वस्थानी ब्रत कथा’को पुजन विधिलाई आफ्नो नेतृत्वले गरेकाे निर्णयसँग दाँजेका छन् ।

श्रीस्वस्थानी व्रत कथाको पुजन विधिमा प्रसाद आठ रोटी, आठ अक्षेता, आठ बेली पुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मीत छोरालाई दिनु र मीत छोरा नभए गंगामा बगाउनु भनिएको छ । कथाको यस प्रसंगले प्रसादको बरु खोलामा बग्ने (खेरा फाल्ने) पालो आउँछ । तर कुनै महिलाको (छोरी, बुहारी, मीत छोरी, दिदी, बहिनी, आमा वा सासु आमाले) ग्रहण गर्ने पालो आउँदैन ।

तर यहि बिधिलाई माओवादी युवाहरुले आफ्नो नेतृत्वसँग दाँजेर समानुपातिक प्रदेश सांसद छनौट प्रक्रियामा गरेको पक्षपाती निर्णयको बिरोध गर्दै लेखेका छन्, -‘ हे अगस्त मुनि ! तहा उप्रान्त पत्नी भए पत्निलाई दिनु ! पत्नी नभए छोरालाई दिनु !छोरा नभए मीत छोरालाई दिनु ! मीत छोरा नभए गङ्गामा लगेर बगाइदिनु , इति श्री स्कन्दपुराणे चुनाव २०७४ रो समानुपातिक अध्याय समाप्त..।’

त्यस्तै युवा नेता तथा वाइसिएलका अधक्ष्य दीपसिखाले पनि घुमाउरो शैलीमा यसको बिरोध गरेका छन् । उनले भनेका छन् -‘हामी युवाहरुपनि उस्तै भयौं । अलिकति नयाँ नबन्ने, अलिकति क्रान्तिकारी चरित्र पनि नचाहने । यसो युवा भइटोपल्न देखावटी गर्ने तर चरित्रको हिसाबले युवापन कतै नदेखिने । तलतिर होइन माथितिर फर्केर धारणा बनाउने । न्याय र सहि नछुट्याउने युवा कसरी हुन सक्छ । आफुलाई दुख पर्दा यसो जुट्ने र अरुलाई पर्दा नबोल्ने युवा प्रवृति होइन । अहिले समानुपातिक नाम छनौटमा प्रदेश र प्रतिनिधिसभामा केही कमरेडहरुमाथि फेरी अन्याय र केही कमरेडहरुमाथि फेरी बम्परको अवस्था देखिएको छ । हामी कोही बोल्न तयार छौं ? छौं भने आफुका लागी होइन, ति अन्यायमा परिरहेका कमरेडहरुका लागी बोलौं ! अनिमात्रै ‘म युवा हुँ’ भनौं !’

यस्तै युवा नेता जागृत राइमाझीले नेमकिपाले उदाहरणीय रुपमा समानुपातिकताको कोटा बाडफाड गरेको भन्दै त्यसलाई सुन्दर शृङ्खला भनेका छन् ।

नातावादको आधारमा प्रदेशसभा सदस्य बन्नेहरु तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।

यसैबीच माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो ।

असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुलीले हात हालेका हुन् ।

केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । उनले संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीतालाई किन सांसद बनाको भन्दै विरोध गरेपछि शाक्य र सुवेदीले त्यसको प्रतिवाद गरेका थिए ।

पार्टीको रगत र पसिना बगाएका कार्यकर्तालाई नबनाएर पसल खोलेर बसेकी सीतालाई बनाएको भन्दै पराजुलीले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि पराजुलीलाई शाक्य र सुवेदीलाई एक थप्पड हानेको कार्यालयका कर्मचारीले देखेका थिए । शाक्य र सुवेदीलाई सामान्य चोट लागेको छ ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए ।

त्यसैगरी दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । लामा केही दिन पहिला मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् ।

 

Loading...