धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी

काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् ।

एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् भने, केहीले आफूहरु एमालेमा विलय नजाने भन्दै पार्टी पुर्नगठन गर्ने चेतावनी दिइसकेका छन् ।

एमाले अध्यक्ष ओली र माके अध्यक्ष प्रचण्ड दुबैले एकतलाई स्वीकार गरेपनि नेतृत्व बाँडफाँडमा कुरा मिल्न नसक्दा एकताले अपेक्षा गरेअनुसार अगाडि बढ्न सकेको छैन । कुराको चुरो पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा अड्केको छ । अझ प्रष्टसँग भन्नुपर्दा प्रधानमन्त्री भन्दा पनि एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्नेमा हलो अड्केको छ ।

माकेले आफूले अध्यक्ष पाउनु पर्ने दाबी गरिरहेको छ भने एमालेले अहिले नै दिन नसकिने बताउँदै आएको छ । खासगरी एमालेको ओली पक्ष नेताहरुले त्यसको विरोध गरिरहेका छन् । उनीहरुले अध्यक्ष र प्रधानमन्त्री ओली नै बन्ने तर्क गरिरहेका छन् भने नेता माधव कुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहले प्रचण्डलाई स्वीकार गर्न सकिने संकेत दिएका छन् ।

एमालेमा यी तिनै समूहले ओली समूहबाट खेप्नु परेको पेलाईमा प्रचण्डसिहत टीम बन्ने अपेक्षा गरेको छ । त्यसैगरी ओली पक्षले पनि प्रष्टै बुझेको छ की एकतापछि प्रचण्ड, नेपाल, गौतम र झनाल एक ठाउँमा हुने कुरा । त्यसैले ओली पक्ष आफू पछि अप्ठ्यारो हुने गरी एकता गर्न चाहदैन ।

एमाले र माओवादी एकताबारे अनलाइन डबलीको अन्तरवार्ताको लागि शुक्रबार संवाद डबलीमा आए । अनलाइन डबलीको आग्रहमा आएका हुन् तर उनले आफू एकताको पक्षमा भएकोले एकता प्रक्रियमा भइरहेको छलफललाई असर पर्ने भन्दै अनौपचारिक कुराकानी मात्रै गर्ने बताए । केही दिनपछि मात्रै यसबारे बोल्ने बताउँदै उनले एमालेमा विलयको लागि नभएको दाबी गरे ।

“म एकताको विरोधी होइन तर जसरी पनि एकता हुनुपर्छ भन्ने पक्षमा म छैन । माओवादीले विचारसहितको सम्मानजनक एकता गर्नुपर्छ” ती नेताले भने । उनले एमालेले माओवादीलाई विलय हुने गरि एकता गर्न खोजेको भन्दै आपत्ति जनाए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरुले माकेको अस्तित्व स्वीकार गरिसक्दा पनि ओली पक्ष तयार नभएका कारण एकता लम्बिएको ती नेताको ठम्‍याइ छ ।

अनौपचारिक कुराकानीको क्रममा ती नेताले एमाले नेताहरुले एकताको नाममा आत्मसमर्पण गर्न खोजे त्यसलाई नमान्ने बताए । उनले चुनावमा माकेलाई भन्दा एमालेलाई धेरै फाइदा भएको समेत बताए । “चुनावको तालमेलले हामीलाई भन्दा एमालेलाई फाइदा भएको छ । हाम्रो उम्मेदवार नभएको ठाउँमा हाम्रो समानुपातिक भोट पनि एमालेलाई गयो, यसले हामीलाई घाटा लागेको छ” ती नेताले भने ।

एमाले नेताहरुले माओवादीको अतित्व स्वीकार गर्न गारो भएको भन्दै जितको फुर्ति धेरै गरे आफूहरुले देखाइदिने बताउँदै उनले भने, “एमाले नेताहरुले धेरै ल्याङल्याङ गरे पाँच वर्षसम्म घाममा सुकाइदिन्छौं ।’ उनले एमालेले सम्मानजनक अवस्थामा पार्टी एकता गर्न तयार नभए फरक ढंगले सत्ता समिकरण गर्ने संकेत गरे ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको दुबै पार्टीका अध्यक्षबीच भएको भेटवार्तापछि कुनै अौपचारिक कुराकानी भएको छैन ।

Loading...