राजधानीमा भारतीय ‘चल्ला समूह’का चोरको बिगबिगी

काठमाडाैं, ३ पुस । उपत्यकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध चोरी तथा डकैतीका घटनामा भारतीय पोदार थरका ‘चल्ला समूह’ सक्रिय रहेको पाइएको छ । बोतल–कागज, फलाम लगायत ‘कवाडी’ सामान संकलन गर्ने आवरणमा चोरी तथा डकैतीमा भारत बिहारका पोदार समूह सक्रिय रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले काठमाडौंमा ‘चल्ला समूह’ नाम दिएर अपराध धन्दा सञ्चालन गरेको समेत पाइएको छ । नेपालमा विगत १० वर्षदेखि यो समूह चोरीमा सक्रिय रहेको पनि पत्ता लागेको छ । काठमाडौंमा मात्रै चल्ला समूहसहित २ दर्जनभन्दा बढी भारतीय चोर समूह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

“बोतल कागज उठाउने नाममा घरमा कोही नभएको मौका छोपेर भारत बिहारबाट काठमाडौं आएको संगठित गिरोह चोरी तथा डकैतीमा संलग्न रहेको पाइएको छ,” महाशाखाको चोरी नियन्त्रण शाखाका प्रहरी निरीक्षक भरत थापाले भने, “आवरणमा बोतलकागज संकलन गर्ने तर उनीहरूको धन्दा घरका ढोका फोडेर सामान चोर्ने समूह काठमाडौंका विभिन्न स्थानमा सक्रिय रहेको देखिन्छ ।” यस्तो अपराधमा भारत विहारका पोदार जातका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा भारतीय गिरोहलाई सघाउने बाराका एक नेपाली पनि पक्राउ परेका छन् ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महागरपालिका–९ तिलगंगास्थित सुकुम्बासी टोलमा बस्दै आएका बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, १८ वर्षीय केतुल पोदार, १९ वर्षीय चन्तन पोदार, मोतिहारीका १८ वर्षीय मुकेशकुमार पोदार, हाजिपुरका १८ वर्षीय सुरज पोदार र १८ वर्षीय विकास पोदार तथा पशुपतिमा दाउरा ओसारपसार गर्ने बारा निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी छन् ।

उनीहरू मानिस नभएको मौका छोपेर घरका ढोका तथा झ्याल फोड्दै नगद, सुनचाँदीका गरगहना, मोबाइल र अन्य ईलोक्ट्रोनिक्स सामान चोरीमा संलग्न रहेका छन् । पक्राउ परेका मध्ये मुकेशकुमार ०७३ वैशाख ८ गते चोरी अभियोगका पक्राउ परी ९३ हजार रुपैयाँ धरौटीमा तथा राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्दामा ३ हजार रुपैयाँ धरौटी छुटेका अभियुक्त हुन् ।

प्रहरीका अनुसार यो गिरोह काठमाडौंमा चोरी गर्न भारतबाटै समूह बनाएर आउने गरेको छ । काठमाडौंमा चोरेर भारत फरार हुने र पक्राउ परिने डरले केही समय उतै बस्ने र घटना पुरानो भएपछि पुनः नेपाल आएर अपराध धन्दा दोहोर्याउने गरेको प्रहरीको बयानमा उनीहरूले बताएका छन् । यसरी चोरिएको सामान बिक्री गरेर भारतमा जग्गाजमिन समेत किन्ने गरेको पनि बयानबाट खुलेको छ ।

“आरेपितले चोरीको सामान भारतीय बजारमै बिक्री गरेर जग्गा-जमिन तथा घर किन्ने गरेको स्वीकारेका छन्,” प्रहरी निरीक्षक थापाले भने, “१०-१२ वर्षकै उमेरदेखि यस्तो अपराधमा उनीहरूको संलग्नता देखिन्छ ।” चोरिएका सामान केही दिन कवाडी पसल तथा सुकुम्बासी टोलमै स्टोर गर्ने र जीप रिजर्भ गरेर भारत लैजाने गरेको पनि पत्ता लागेको छ ।

खासगरी गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गर्ने, कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्रका सामान उठाएर बोरामा संकलन गरेर फरार हुने गरेका थिए । प्रहरीले कवाडी संकलन गर्न आएका व्यक्तिमाथि थप सचेत र सजक हुन पनि सर्वसाधारणलाई अपिल गरेको छ । उपत्यकामा यस्ता व्यक्तिमाथि निगरानी राखेर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

चल्ला समूहबाहेक भारतबाट काठमाडौं आएको अर्को गिरोह पनि चोरीमै सक्रिय रहेकोले उनीहरूप्रति सजक रहन प्रहरीले आग्रह गरेको छ । सार्वजनिक स्थानमा ज्योतिषी बनेर बसेका व्यक्ति पनि चोरीको अर्को गिरोह रहेको प्रहरी निरीक्षक थापाले बताए ।

“सार्वजनिक स्थलमा हात हेर्न बसेका भारतीय र उनीहरूका १५ देखि २०–२२ वर्ष उमेर समूहका छोराहरू चल्ला समूह जस्तै चोरीमा सक्रिय छन्,” प्रहरी निरीक्षक थापाले भने, “यस्ता व्यक्तिका गतिविधिप्रति आम नागरिक आफैं सचेत नहुने हो भने ठग तथा चोरबाट पीडित बन्नसक्ने खतरा छ ।”

Loading...