समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५,१०५ मतले अघि, माके १८,६९,७७३ मतले पछि

काठमाडौं,२ पुस । निर्वाचन अायाेगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएकाे छ । मतगणना अनुसार समानुपातिकमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएकाे छ । त्यसैगरी दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राे स्थानमा नेकपा माअाेवादी केन्द्र भएका छन् ।

अायाेगका अनुसार नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । यसअनुसार एमालेले पाएको मत कांग्रेसभन्दा ४५ हजार १ सय ५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।

यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २ सय ५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २ सय १ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।

राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३ सय ६३ र राप्रपाले एक लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

राप्रपा प्रजातान्त्रिकले भने ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३४ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।

Loading...