आठ ग्रह भएको अर्काे सौर्य परिवार पत्ता लाग्यो

नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता लागेको हो।

यससँगै केपलर–९० ले पनि ग्रहसंख्याको मामिलामा सौर्यपरिवारसँग बराबरी गरेको छ। केपलर–९० तारा हाम्रो सूर्यभन्दा अलिकति ठूलो र अलि बढी तातो रहेको वैज्ञानिकहरुले बताएका छन्। यो पृथ्वीबाट २५४५ प्रकाश वर्ष टाढा छ।

नासाको केप्लर स्पेस टेलिस्कोपले खिचेको तथ्यांक अध्ययन गरी पत्ता लगाइएको सो ग्रहको नाम केपलर–९० आइ राखिएको छ। खगोलशास्त्रीहरुले केपलर–९० को सात ओटा ग्रह रहेको कुरा पहिले नै पत्ता लगाएका थिए। हालै पत्ता लगाइएको आठौँ ग्रह चाहिँ अन्यभन्दा केही सानो छ।

‘केपलर–९० हाम्रो सौर्य परिवारजति नै संख्यामा ग्रह भएको पहिलो तारा बन्न पुगेको छ,’ गुगलका सफ्टवेयर इञ्जिनियर क्रिस्टोफर सालु भन्छन्। गुगलले पनि यो खोजमा योगदान दिएको थियो। गुगलका इञ्जिनियरहरुले ग्रह पत्ता लगाउने आर्टिफिसियल इन्टेलिजेन्स तयार गरेका थिए।

सो आर्टिफिसियल इन्टेलिजेन्सलाई केपलर टेलिस्कोपका तथ्यांकहरुको अध्ययन गरेर सौर्य परिवारकाभन्दा बाहिरका ग्रह (एक्जोप्लानेट) पत्ता लगाउन सिकाइएको थियो।

केपलर–९० आइ अत्यन्त तातो रहेको वैज्ञानिकहरुले बताएका छन्। किनभने हाम्रो सौर्य परिवारको तुलनामा सो परिवारका ग्रहहरु ताराको एकदमै निकट छन्। हाल पत्ता लागेको केपलर–९० आइ ग्रह पृथ्वीभन्दा ३० प्रतिशत ठूलो छ र यसले हरेक १४.४ दिनमा आफ्नो सूर्यको एक फन्को लगाउँछ। यसको सतहमा ४२५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहने अनुमान गरिएको छ।

केपलर ९० लाई परिक्रमा गर्ने सबैभन्दा बाहिरी ग्रह केपलर–९० एच चाहिँ पृथ्वीले सूर्यलाई परिक्रमा गरेजत्तिकै दूरीबाट फन्को मार्दछ।

केपलर टेलिस्कोपको ४ वर्षको तथ्यांकमै ३५ हजार सिग्नल रहेको अनुमान गरिएको छ। मानिसले अध्ययन गर्दा कमजोर खालका सिग्नलहरु छुट्ने गर्दछ। यस्तो खोजी ‘ढुंगा पल्टाएर सुन खोज्नु’ जत्तिकै गाह्रो भएको युनिभर्सिटी अफ टेक्ससका एन्ड्रयु भान्डेरवर्ग बताउँछन्।

यही तरिकाले केपलर–८० परिवारमा पनि एउटा ग्रह फेला पारिएको नासाले जनाएको छ। पछिल्लो दशकमा करिब ३ हजार ५ सय एक्जोप्लानेटहरु पत्ता लागिसकेका छन्।

 

Loading...