देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन ।

प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको हो । ओखरकोटको प्रभात माध्यमिक विद्यालय आहालमा रहेको मतकेन्द्रमा राती १० बजे यो समाचार तयार पार्दासम्म मतदान चलिरहेको छ ।

सो ठाउँमा मतदाता धेरै भएका कारण मतदान यतिबेलासम्म चलेको भने होइन । बिहान अबेर मतदान सुरु भएर यतिबेलासम्म मतदान चलेको पनि होइन । मतदान अबेरसम्म चल्नुमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रहेकाे बुझिएकाे छ । उनकै कारण राती अबेरसम्म मतदान भएको हो । उक्त मतदान केन्द्रमा नारायण अाचार्य नाम गरेका अधिकृत खटिएका थिए ।

सो केन्द्रमा खटिएका मतदान अधिकृत अाचार्यले हस्ताक्षर नगरेरै केही मतदातालाई मतपत्र दिने गरेको खुलेपछि विवाद भएको र सोही विवादका कारण दिउसो लामो समय मतदान स्थगित भएको थियो । दिउसो मतदान रोकिएका कारण अहिले राती अबेरसम्म मतदान चलेको बताइएको छ ।

उनले कति मतदातालार्इ हस्ताक्षर नगरेकाे मतपत्र दिए भन्ने एकिन हुन भने सकेकाे छैन । राष्ट्रिय जनमाेर्चाका कार्यकर्ताले केही समयपछि त्यस्ताे मत पाएपछि विराेध गरेकाे बुझिएकाे छ । 

Loading...