फुलपरासी बुथमा गोली चल्यो, घाइते ३ मध्ये एक महिलाको अवस्था गम्भीर

सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे ।
काँग्रेस कार्यकर्ताको आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । घाइतेमध्ये कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर रहेकाे बताइएकाे छ । घाइतेको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

झडप बढेपछि नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियाे । प्रहरीका अनुसार भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुलार्इ रोक्न खोजेपछि विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न सुरु गरेका थिए । मतदानका लागि लाइन लागिरहेकै बेला झडप भएपछि लाइन लागेकाहरुकाे भागाभाग भएकाे थियाे । झडपपछि केही समय उक्त मतदान केन्द्रकाे मतदान स्थगित भएको थियो ।

Loading...