गाउँ र नगरपालिकाले चर्को कर उठाउन थालेको भन्दै नेकपाले दियो चेतावनी

काठमाडौं, २० मंसिर । नवगठित गाउँपालिका र नगरपालिकाहरुले गाउँमा चर्को कर उठाउन थालेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ती जनाएको छ ।

नेकपा जाजरकोटका इन्चार्ज अनुकूलले एक विज्ञप्ती जारी गर्दै सो आपत्ती जनाएका हुन् । जनतालाई सेवा र सुविधा दिनुभन्दा सुरुमै चर्को कर थोपरेर नयाँ संरचनाले जनतामाथि अन्याय गर्न थालेको उनले बताएका छन् । विगतका सरकारले लागु गरेकोभन्दा सयौ गुणा बढी कर नवगठित गाउँ र नगरपालिकाहरुले गाउँमा लगाएको विज्ञप्तीमा भनिएको छ ।

इन्चार्ज अनुकूलले राज्यले जमिनमाथिको अधिकारलाई मौलिक अधिकारको रुपमा परिभाषित गरिसकेको अवस्थामा हचुवाका भरमा चर्को कर लगाउने कार्य किसानमारा निर्णय भएको बताएका छन् । उनले किसानहरुलाई अहिले बढाइएको नयाँ कर नतिर्न पनि अपिल गरेका छन् ।

विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ती

केही समय अगाडि मात्र गठन गरिएको भनिएका गाउँ र नगरपालिकाहरुले जनताको ढाड भाँचिने गरी जमिन र अन्य क्षेत्रमा कर बृद्धि गरेका छन् । नयाँ गाउँपालिका र नगरपालिकाले अहिले विगतका सरकारले लागु गरेको भन्दा पनि अझ सयौ गुणा बढी कर असुलेर जनहित विपरित काम गरिरहेका छन् ।

जनतालाई कुनै पनि सेवा सुविधा प्रदान गर्नुको सट्टा सिधै चर्को कर थोपर्ने यो निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसले जनतालाई सेवा सुविधा दिने होइन कि जनता लुटेर भ्रष्टहरुको मनपरीतन्त्र सुरु भएको प्रष्ट देखिन्छ ।

राज्यले जमिनलाई आधारभूत मौलिक हकमा रुपमा परिभाषित गरेको स्थितिमा समेत जमिनमाथि नै लगाइएको अति चर्को कर किसानमारा कार्य हो । हाम्रो पार्टी सम्पूर्ण किसानहरुलाई जमिनको कर नतिर्न संघर्षपूर्ण अपिल गर्दछ । साथै जमिनको कर नउठाउन बरु जमिनमाथिको कर निःशुल्क घोषणा गर्न माग गर्दछौ । त्यसैगरी अन्य क्षेत्रमा साविकमा लगाइएको भन्दा सयौ गुणा बढाएर लगाइएको कर खारेज गर्न माग गर्दछौ । अन्यथा जनतामाथि जबरजस्ती गरेर कर उठाइएमा जनताको विरोध र विद्रोहको नेतृत्व गर्न हाम्रो पार्टी बाध्य हुने जानकारी गराउँदै त्यसका लागि हामी हरहमेशा तयार रहेको जानकारी गराउँदछौ ।

अनुकूल

इन्चार्ज/सेक्रेटरी

नेपाल कम्युनिस्ट पार्टी

जाजरकाेट

 

Loading...